नेभिगेशन
अन्य

विश्वकप खेल्ने नेपालको सपना समाप्त, अन्तिम खेलमा जर्सीसँग ७ विकेटले पराजित

काठमाडौं । नेपाल सन् २०१६ मा भारतमा हुने ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेटमा छनोट हुन असफल भएको छ। आयरल्याण्डमा भएको छनोट प्रतियोगितामा समूह चरणबाटै बाहिरिएपछि छिमेकी देशमा विश्वकप खेल्ने नेपालको सपना समाप्त भएको हो। छनोट प्रतियोगितामा नेपालले लगातार चार खेलमा हार ब्यहोरेपछि समूह चरणबाटै बाहिरिएको हो। नेपालले आयरल्याण्ड, हङकङ, पपुवा न्युगिनी र जर्सीसँगको पराजय ब्यहोर्‍यो भने अमेरिकामाथि जित हासिल गर्‍यो। नामिबियासँगको खेल भने वर्षाका कारण स्थगित भएको थियो। समूह चरणका सबै खेल सकिँदा नेपालले जम्मा तीन अंक जोड्यो। समूह चरणको अन्तिम खेलमा नेपाल जर्सीसँग ७ विकेटले पराजित भयो। नेपालले दिएको १ सय ६ रनको लक्ष्य जर्सीले १६.१ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो। जर्सीका लागि जोन्टी जेनरले ३०, पेटर गोगले २७ रन जोडे। बोडेनस्टेन २३ र बेन स्टेभन्स १३ रनमा नटआउट रहे। बलिङतर्फ नेपालका पारस खड्का र शक्ति गौचनले १/१ विकेट लिए। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५ रन बनायो। नेपालका लागि नयाँ खेलाडी सिद्धान्त लोहनीले सर्वाधिक २७ रन जोडे। १६ बल खेलेका उनले २ चौका र २ छक्का प्रहार गरे। त्यस्तै ज्ञानेन्द्र मल्लले २६, शरद भेषावकरले १६ र कप्तान पारस खड्काले ११ रन बनाए। बसन्त रेग्मीले ७, राजेश पुलामी मगरले ४, विनोद भण्डारीले ३, प्रदीप ऐरीले २ तथा सोमपाल कामीले नटआउट ३ रन जोडे। नेपाली टोलीले ओपनिङमा परिवर्तन गरेपनि त्यसको नतिजा सुखद रहेन। ओपनिङमा सागर पुनको ठाउँमा विनोद भण्डारी आएका थिए। ८ बल खेलेका भण्डारीले जम्मा ३ रन जोडे भने १३ बल खेलेका ऐरीले २ रनमात्रै जोडे। बलिङतर्फ जर्सीका नाट वाट्किन्सले ३, एन्थोनी काएले २ विकेट लिए भने बेन स्टेभन्स, चार्ल्स प्रिचार्ड र बोडेनस्टेनले १र१ विकेट लिए।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्