नेभिगेशन
अन्य

संविधानको मस्यौदामा अधिकतम सुझाव दिन उपप्रधानमन्त्री सिंहको आग्रह

काठमाडौँ । उपप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले संविधानको प्रस्तावित मस्यौदामा अधिकतम सुझाव दिन सबैलाई आग्रह गरेका छन् । नेपाली काँग्रेसको आसन्न १३औँ महाधिवेशनको सन्दर्भमा पार्टीको काठमाडौँ ३२ नं वडा एकाइको संयोजनमा आज यहाँ आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले निर्माणाधीन संविधानलाई नेपाल र नेपाली जनताको हित हुने किसिमको बनाउन मस्यौदामा नसमेटिएका विषयहरु पहिचान गरी आवश्यक सुझाव प्रस्तुत गर्नुपर्ने बताए । नेपालमा विभिन्न चरणमा भएका ऐतिहासिक सङ्घर्ष हुँदै २०६२÷६३ को जनआन्दोलन, विस्तृत शान्ति सम्झौता र दलहरुबीचको पछिल्लो १६ बुँदे सहमतिसमेतका आधारमा देश संविधान निर्माणको महत्वपूर्ण चरणमा हिँडिरहेको बताउदै उनले भने ‘भावी पुस्तालाई पनि उपयोगी हुने किसिमको संविधान बनाउन दीर्घकालीन सोचका साथ महत्वपूर्ण सुझावहरु प्रस्तुत गर्ने महत्वपूर्ण अवसरका रुपमा यसलाई उपयोग गर्नुपर्छ ।’ ‘प्रस्तावित संविधानको मस्यौदा विभिन्न विचारका दलहरुबीचको सहमतिको दस्तावेज भएकाले सबै दलको शतप्रतिशत भावना समेटिएको छैन । अधिकतम रुपमा दलहरुले आफ्ना विचारलाई यसमा समावेश गराउने प्रयास गरेका छन् । नेपाली काँग्रेसले संविधानसभाको चुनावका क्रममा घोषणपत्रमा उल्लेख गरेका अधिकांश कुरालाई संविधानमा समेट्ने प्रयास गरेको छ’ – उनले भने । लोकतन्त्रका लागि लामो समय सङ्घर्ष गरेको पार्टीका रुपमा देश तथा विदेशमा काँग्रेसप्रतिको चासो रहनु स्वाभाविक भएको बताउँदै उहाँले पार्टीको आसन्न १३औँ महाधिवेशनमा सबैको ध्यान केन्द्रित भएको बताए । महाधिवेशनका क्रममा हुने बुथ, वडा, गाउँ, नगर, जिल्ला हुँदै केन्द्रको महाधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्नुपर्ने उहाँको भनाइ छ । सभासद् मोहनकुमार राईले अब बन्ने नयाँ संविधान जनताको संविधान हुने बताउँदै नेपाली काँग्रेसले संविधानसभाको चुनावका बखत गरेको प्रतिबद्धताअनुसार संविधान लेखन कार्यलाई अन्तिम टुङ्गोमा पु¥याउन लागेको बताए । पार्टीको आसन्न महाधिवेशनले पार्टी सङ्गठनलाई थप मजबुत बनाउन क्रियाशील नेतृत्व चयन गर्ने विश्वास व्यक्त गर्दै उहाँले नयाँ संविधानसँगै देश आर्थिक विकासको मार्गमा उन्मुख हुने धारणा राख्नु भयो । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि नरेन्द्रकुमार गुरुङले पार्टीले जीवन्त राखेको इतिहासलाई कायम गराउँदै आगामी दिनमा पार्टी सङ्गठन सक्रिय पार्न आसन्न महाधिवेशनले जुझारु नेतृत्व चयन गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा साहित्यकार श्रवण मुकारुङ, लक्ष्मी रुम्बालगायतले विभिन्न कविता वाचन गरे ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्