नेभिगेशन
अन्य

संविधान निर्माणमा भारतीय सहयोगको अपेक्षा

काठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग संविधान निर्माणमा भारतीय सहयोगको अपेक्षा रहेको जनाएका छन्। नयाँ दिल्लीमा भएको भेटवार्ता अध्यक्ष दाहालले शान्ति प्रक्रिया र संविधान निर्माणमा भारतले देखाएको सद्भाव र सहयोगप्रति आभार व्यक्त गर्दै मोदीसँग थप सहयोगको अपेक्षा राखेका हुन्। ‘शान्ति प्रक्रिया र संविधान निर्माणमा भारतको सद्भाव र सहयोग रहँदै आएको छ, अब हामी संविधानलाई अन्तिम रूप दिने अवस्थामा छौं,’ दाहाललाई उद्धृत गर्दै उनका सहयोगी शिव खकुरेलले भने, ‘संविधान मस्यौदा तयार पारेर जनताको राय सुझावका लागि पठाएका छौं, यतिबेला पनि भारतको सहयोग र सद्भावको अपेक्षासहित म आएको छु।’ उनका अनुसार दाहाल र मोदीबीच प्रधानमन्त्री कार्यालयमा करिब ४० मिनेट वार्ता भएको थियो। जवाफमा मोदीले नयाँ संविधान निर्माणमा सबै पक्षलाई समेटेर जान दाहाललाई सुझाव दिएका छन्। ‘सकेसम्म संविधान निर्माणमा सबैलाई समेटेर संविधान बनोस् भन्ने हाम्रो चाहना हो,’ मोदीलाई उद्धृत गर्दै खुकुरेलले भने, ‘यसबारे तपाइँहरुले नै निर्णय गर्ने हो, तपाइँले नै यसमा विशेष पहलकदमी लिनुपर्छ।’ शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रियामा अध्यक्ष दाहालले खेलेको भूमिकको प्रशंसा गर्दै मोदीले थप सक्रियतामा जोड गरेका छन्। दाहालले महाभूकम्पपछि भारत सरकारले गरेको सहयोग र दाता सम्मेलनमा सहयोग घोषणाप्रति आभार व्यक्त गरेका थिए। उनले कालापानी, सुस्ता र लिपुलेकका सीमा विवाद हल गर्न मोदीको पहलकदमी आवश्यक रहेकोमा जोड गरेका छन्। ‘अहिले लिपुलेक बारेमा नेपालीको कर्न्सन रहेको अध्यक्षले बताउनुभएको छ,’ खकुरेलले भने। दाहालले भारत भ्रमणमा निस्कनुअघि नै चीन–भारतबीचमा लिपुलेक नाका खोल्ने सम्झौताप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै मोदीलाई पत्र लेखेका थिए। त्यसबारे मोदीले के जवाफ दिए सो भने दाहालका सहयोगी खकुरेलले बताउन चाहेनन्। दाहालले निजगढ विमानस्थल, फास्टट्र्याक निर्माण र हाइड्रोपावरमा लगानी गर्ने उपयुक्त भारतीय कम्पनी आएमा सहयोग गर्ने प्रतिबद्धता मोदीसमक्ष जनाएका छन्। भारतसँगको व्यापार घाटा अत्यधिक भएकाले सो हल गर्न दाहालको तर्फबाट उक्त प्रस्ताव गएको हो। यता, प्रधानमन्त्री मोदीसँग भेट गरेलगत्तै दाहालले भारतीय राष्ट्रपति प्रणव मुर्खजीसँग भेटवार्ता गरेका छन्। भेटमा मुर्खजीले नेपालको संविधान निर्माण प्रक्रियाप्रति चासो व्यक्त गरेका थिए। संविधानको मस्यौदा निर्माण गरेर राय संकलनका लागि जनतामा गएकोमा मुखर्जीले दाहाललाई बधाई दिएका छन्। भारतको संविधान निर्माण हुँदाको अवस्थाबारे विस्तृत जानकारी दिएका मुखर्र्जीले एक–एक विषयमा छलफल गरेर संविधान जारी गरिएको सुनाएका थिए। ‘जनताले आफ्नो कुरा राख्न पाइएन भन्ने ठाउँ छाडनुहुन्न, सबैलाई समेट्ने प्रयास गर्नुहोला,’ उनको सुझाव थियो। शुक्रबारै दाहालले भारतीय गृहमन्त्री राजनाथ सिंहसँग पनि भेटवार्ता गरेका छन्। भारतीय नेतासँगको भेटवार्तामा त्यहाँ अधिकारीहरू उपस्थित भए पनि दाहालसँग भने उनका पारिवारिक सदस्यको मात्रै उपस्थिति थियो। भारतस्थित नेपाली दूतावासका कुनै पनि कर्मचारी भेटवार्तामा उपस्थित थिएनन्।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्