काठमाडौ । फ्री भिसा र फ्री टिकटको विरोधमा आन्दोलनरत वैदेशिक रोजगार व्यवसायी र सरकारबीचको वार्ता विअनिश्चितकालका लागि स्थगित भएको छ । फ्री भिसा र फ्री टिकटका विषयमा कुरा नमिलेको बताइएको छ ।
श्रम मन्त्रालयमा बुधबार मन्त्रालयका सचिव र वैदेशिक रोजगार व्यवसायीका प्रतिनिधिहरुबीच वार्ता भएको थियो । बुधबार विहानको वार्तामा श्रमराज्यमन्त्री टेकबहादुर गुरुङ सहभागी भए पनि अपरान्हको वार्तामा भने उनी अनुपस्थित थिए । अधिकांश विषयमा मंगलवार नै मौखिक सहमति जुटेपछि फ्री भिसा फ्री टिकटको निर्णय खारेज, कामदारको भिसा प्रोसेसिङको काम गर्ने भन्दै स्वीकृति दिइएको भीएलएन नेपाल बन्द र बायोमेट्रिक प्रणाली खारेज गर्नुपर्ने विषयमा सहमति जुट्न सकेको छैन । ‘आज सामान्य छलफल मात्रै भयो, केही टुंगो लागेन,’ वैदेशिक रोजगार व्यवसायी संघका प्रथम उपाध्यक्ष कुमुद खनालले भने । उनले मन्त्रालयले वार्ताका लागि फेरि बोलाउने भनिए पनि कहिले र कतिखेर बोलाउने भन्ने निश्चित नभएको जानकारी दिए । वैदेशिक रोजगार व्यवसायी र सरकारका प्रतिनिधिहरुबीच बुधबार बिहान पनि श्रम मन्त्रालयमा वार्ता भएको थियो ।
विहानको वार्तामा सरकारको तर्फबाट श्रम राज्यमन्त्री टेकबहादुर गुरुङ, तथा ब्यवसायीको तर्फबाट वैदेशिक रोजगार ब्यवसायी संघका अध्यक्ष विमल ढकाल, प्रथम उपाध्यक्ष कुमुद खनाल, महासचिव रोहन गुरुङ, तथा एमाले निकट प्रगतिशील मञ्चका सरोज पोखरेल, कांग्रेस निकट लोकतान्त्रिक फोरमका प्रज्ञान न्यौपाने, ब्यवसायीहरु किरण किशोर घिमिरे, रामप्रसाद बान्तुना, नरेश गेलाल, शमशेरबहादुर गुरुङ, पदमराज पौडेल लगायतको सहभागिता छ ।
फ्री भिसा र फ्री टिकटको निर्णय खारेजीको माग गर्दै आएका मेनपावर ब्यवसायीहरुले वार्तासँगै आन्दोलन जारी राखेका छन् । वार्ता र आन्दोलनसँगसँगै अघि बढाउने निर्णय अनुसार वार्ता र शान्तिपूर्ण आन्दोलन कायमै राखिएको संघका महासचिव गुरुङले बताए । आन्दोलन अन्तर्गत मेनपावर ब्यवसायीहरुले बुधवार श्रम कार्यालय ताहाचलदेखि बबरमहलसम्म पदयात्रा गरेका छन् । श्रम मन्त्रालयमा ब्यवसायी र सरकारका प्रतिनिधिबीच वार्ता भइरहँदा अन्य ब्यवसायीहरुले श्रमग्राम ताहचलमा प्रदर्शन गरेका थिए । सरकारले मलेसिया, कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स यूएई, बहराइन, कुवेत र ओमनमा वैशाख २१ गतेदेखि फ्री भिसा र फ्री टिकटको ब्यवस्था लागू गरेपछि व्यवसायीहरु आन्दोलित हुँदै आएका छन् । व्यवसायीहरुले कार्यालय नै बन्द गरी आन्दोलन गरेपछि विदेश जान तयारीमा रहेका कामदारहरु समेत अन्योलमा परेका छन् । संस्थागत रुपमा वैदेशिक रोजगारमा जाने कामदारको भिसा र पासपोर्ट मेनपावर व्यवसायीहरुको फिर्ता दिएका छैनन् भने काम गर्न अवरोध गर्दै आएका छन् ।