काठमाडौँ । राजनीतिक दलका नेता एवम् संविधानविद्ले संविधानको प्रारम्भिक मस्यौदामा भएका त्रुटी सच्याएर पूर्ण लोकतान्त्रिक मूल्य मान्यतामा आधारित नयाँ संविधान तर्जुमा गर्नुपर्नेमा जोड दिएका छन् । लौहपुरुष गणेशमान सिंहको शत्वार्षिकीको अवसरमा ‘गणेशमान सिंह अध्ययन प्रतिष्ठान’ले संविधानको प्रारम्भिक मस्यौदामाथि गरेको विचार गोष्ठीमा सहभागी वक्ताहरुले संसदीय शासन पद्धतिमा आधारित लोकतान्त्रिक संविधान जारी गर्नुपर्नेमा जोड दिए । संविधान मस्यौदा समितिका सभापति तथा नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले काँग्रेसले लोकतान्त्रिक मूल्य मान्यता अङ्गिकार गरेर राष्ट्रिय स्वाभिमानको रक्षा गर्ने संविधान निर्माणको नेतृत्व लिएको बताए । उनले भने, ‘संविधानका आधारभूत संरचनामा राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र राष्ट्रिय अखण्डताको विषयमा कसैसँग सम्झौता गरिने छैन ।’ संविधानविद् नीलाम्बर आचार्यले अन्योलबीच पनि संविधानको प्रारम्भिक मस्यौदा आउनु स्वागतयोग्य भएको बताउँदै कमीकमजोरीलाई सुधारेर संविधान ल्याउनुपर्नेमा जोड दिए । गणेशमान सिंह अध्ययन प्रतिष्ठानका सभापति तथा सभासद् नवीन्द्रराज जोशीले नयाँ संविधानमा व्यक्तिको मौलिक हक र स्वतन्त्रताका विषयमा विशेष जोड दिइनुपर्ने बताए । उनले नेपालमा कम्युनिष्टले पनि बहुदलीय व्यवस्था स्वीकार गरिसकेकाले ‘वहुलवाद’ शब्द संविधानमा राख्दा आपत्ति नहुने तर्क राखे । संविधानविद् डा भीमार्जुन आचार्यले संविधानको मस्यौदा लामो भएको धारणा राख्दै संविधानमा व्यक्तिका हक अधिकारमा बन्देज लगाउने काम हुन सक्ने भएकाले त्यसतर्फ सचेतता अपनाउनुपर्ने बताए ।
काँग्रेस नेता होमनाथ दाहालले अस्थिर सरकार र वैदेशिक हस्तक्षेप नचाहने हो भने समानुपातिक निर्वाचन प्रणाली जरुरी नभएको बताए ।