काठमाडौं । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले सुझाव संकलन गर्न जाँदा नागरिकललाई साउन मशान्तसम्म संविधान जारी हुनेमा आश्वस्त गराउन सभासदहरुलाई आग्रह गरेका छन्। सोमबार संविधानसभाको नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले गरेको कार्यक्रममा उनले सभासदहरुलाई भने ‘जनताले संविधान कहिले आउँछ भनेर सोधे भने साउन मसान्तसम्म जारी गर्छौं भन्नुहोला।’ संविधानको मस्यौदाबारे सुझाव लिन जाने तयारीमा रहेका सभासदहरुलाई नागरिकमा संविधान जारी हुने विश्वास दिलाउन आग्रह गरेका हुन्। सभासदहरु मस्यौदा समितिले ल्याएको मस्यौदा लिएर साउन १ गतेदेखि जिल्लाजिल्लामा जाँदैछन्।नेम्वाङले मस्यौदाप्रति फरक मत राख्ने सभासदहरुलाई प्रक्रियामा सामेल हुन आग्रह गरे। ‘जनताबाट फरक मत ल्याएर फेरि छलफलमा सहभागी हुनुहोला’ असन्तुष्ट सभासदलाई उनले भने। ‘एक महिना समय छ, सबै विषय टुंग्याएर अघि बढौं, बहिस्कार गर्नेलाई पनि मेरो सम्मान छ’ नेम्वाङले भने ‘प्रारम्भिक मस्यौदा समझदारीको दस्ताबेज भएकाले सबैको कुरा नपरेको हुन सक्छ, सुझाव लिएर परिमार्जन गर्ने हो।’ जनताबाट ल्याएको सुझाव सभासदले रातारात भएपनि पढ्ने नेम्वाङले दाबी गरे। जनताबाट ल्याएको सुझाव पढिन्छ कि पढिदैन भन्ने चासो छ।’ उनले भने ‘पहिलो संविधानसभामा पनि सभासदहरुले जनताको सुझाव पढेका थिए, अहिले पनि रातारात भएपनि पढ्छन्।’ संविधानसभाका उपाध्यक्ष ओनसरी घर्तीले जनताको पहुँच संविधानसभामा पुर्याउने गरी काम गर्न सभासदहरुलाई सुझाव दिइन्।