काठमाडौ । २०६२/६३ सालको जनआन्दोलनका कमाण्डर महानायक गरिजाप्रसाद कोइरालाको स्मृतिमा झापामा गिरिजाप्रसाद कोइराला स्मृति सभागृह निर्माण हुने भएको छ । मेची रङ्गशाला पश्चिमपट्टिको जिल्ला विकास समिति स्वामित्वमा रहेको खाली जग्गामा निर्माण गर्न लागिएको गिरिजाप्रसाद कोइराला स्मृति सभागृहको आज प्रधानमन्त्री सुशील कोइरालाले एक कार्यक्रमका बीच शिलान्यास गरे । कार्यक्रममा मुख्य चार दलका शीर्ष नेताहरुको सहभागिता रहेको थियो ।
गिरिजाप्रसाद कोइराला स्मृति सभागृहको शिलान्यास कार्यक्रममा सहभागि हुन भाmपा पुगेको प्रमुख दलका शीर्ष नेताले नयाँ संविधान जारी हुन संसारको कुनै शक्तिले पनि रोक्न नसक्ने बताए । उनिहरुले साउन महिनाभित्र संविधान जारी भइसक्ने पनि स्पष्ट पारे ।
कार्यक्रममा प्रधानमन्त्री सुशील कोइरालाले सहमति, सहकार्य र एकताबाट नै मुलुकको राजनीतिक सङ्कट अन्त्य भई नयाँ संविधान आउने सुनिश्चित भएको बताए । प्रधानमन्त्री कोइरालाले शान्ति, स्थिरता र विकासका लागि नयाँ संविधान आउने कुरामा विश्वस्त रहन आग्रह गर्दै आपसी एकता र मेलमिलापबिना मुलुक अघि बढ्न नसक्ने विचार व्यक्त गरे । विभिन्न आदर्श र विचार भएका राजनीतिक दलहरूबीच संविधान ल्याउन देखाएको एकताले नै हामी सफलताको मार्गतर्फ बढिरहेको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री कोइरालाले नयाँं संविधानले सबै वर्ग, धर्म र संस्कृतिको अधिकारलाई रक्षा गर्ने दाबी गरे । उनले मुलुकको प्रजातान्त्रिक आन्दोलन एवम् लोकतन्त्रका हिमायती स्व गिरिजाप्रसाद कोइरालाको स्मृतिमा बन्ने यो भवनले रोजगार र विकास सिर्जना गर्ने कुरामा जोड दिए ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०औँ शताब्दीमा मुलुकले जन्माएको परिवर्तनकारी नेताहरूबाट नै अहिले संघीय, लोकतान्त्रिक एवम् गणतन्त्रात्मक संविधान आउन लागेको बताए । संविधान निर्माण गर्ने काम निष्कर्षमा पु¥याउन चार राजनीतिक दलले देखाएको एकता, सहकार्य र प्रतिबद्धताले मुलुकमा राजनीतिक दलप्रति जनताको विश्वास बढेको बताउदै ओलीले नयाँ संविधानले शान्ति र लोकतन्त्र स्थापना गरी सबै किसिमको विभेद् र असमानतालाई अन्त्य गर्ने दाबी गरे ।
नेपाल कम्युनिष्ट पार्टी एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले मुलुकलाई परिवर्तन गर्न बाह्र बुँदे सहमतिदेखि अहिलेसम्म भएका सहमतिहरू सामान्य नभएको बताए । शान्ति, संविधान र समृद्ध नेपाल निर्माण गर्ने स्व गिरिजाप्रसाद कोइरालाको संकल्प पूरा गर्न अब हाम्रो काँधमा जिम्मेवारी आएको बताउदै दाहालले नयाँ संविधान सबैले अपनत्व ग्रहण गर्ने किसिमको हुने स्पष्ट पारे । अध्यक्ष दाहालले नेपाली राजनीतिमा परेको गाँठो फुकाउन प्रमुख राजनीतिक दलले देखाएको अग्रसरताले आम नागरिकलाई संविधान आउने कुरामा आश्वस्त बनाएको पनि दाबी गरे ।
मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले प्रजातन्त्र र लोकतन्त्रका लागि लामो सङ्घर्ष गर्नुभएका स्व गिरिजाप्रसाद कोइरालाको स्मृतिमा बन्न लागेको भवनले झापाको गरिमा बढाएको चर्चा गरे । उनले मुलुकको राजनीतिक अस्थिरता र संकटलाई अन्त्य गर्न चार राजनीतिक दलले देखाएको अग्रसरतालाई सराहनीय मान्दै जनताको माझमा छलफलका निम्ति आएको संविधानको मस्यौदालाई अझ बढी परिस्कृत गर्न सके जनताले बढीभन्दा बढी अधिकार पाउने विश्वास व्यक्त गरे । कुल रु १२ करोड ७२ लाख ६९ हजार लागतमा निर्माण हुने सो सभागृह अत्याधुनिक एवम् अन्तराष्ट्रियस्तर हुने बताइएको छ । झापा जिल्ला बिकास समितिले निर्माण गर्न लागेको सो सभागृह दुई वर्ष भित्र निर्माण कार्य पूरा झापाका स्थानीय विकास अधिकारी फणीन्द्र दाहालले जानकारी दिए । उनले नवनिर्माण हुने भवनको लम्बाइ ५३ मिटर र चौडाइ ३४ मिटर रहने र पहिलो तलामा व्यावसायिक उद्देश्यका २७ वटा कोठा, दोस्रो तलामा दुई वा तीनवटा बैंक अट्ने कोठा र तेस्रो तलामा सभाका लागि एक हजार मानिस अट्ने वातानुकूलित हल बन्ने बताइएको छ ।