काठमाडौं । तराई मधेस र पूर्वी पहाडी क्षेत्रमा आन्दोलनरत विभिन्न समूहबाट अवरोध र जनअसन्तुष्टिको आंकलन गर्दै जनमत संकलनमा जाने सभासद्हरूका लागि उच्च सुरक्षा सतर्कता अपनाइने भएको छ। सभाध्यक्ष सुवास नेम्बाङले प्रधानमन्त्री सुशील कोइराला, उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमसहित सुरक्षा अंगका प्रमुखसँग बिहीबार छलफल गरी सभासद्को सुरक्षाको व्यवस्था मिलाउन आग्रह गरेका छन्।त्यस क्रममा प्रधानमन्त्री कोइरालाले जनमतका लागि आवश्यक पर्ने सबै व्यवस्था गर्न गृह मन्त्रालय, स्थानीय विकास मन्त्रालय र सुरक्षा अंगका प्रमुखलाई निर्देशन दिएका थिए।उपप्रधान तथा गृहमन्त्री गौतमले सुरक्षाको चिन्ता नलिन आग्रह गर्दै आवश्यक सबै रणनीति अपनाउने विश्वास दिलाएका थिए।सभासद्को सुरक्षाको प्रबन्ध मिलाउने विषयमा संसद् सचिवालयका अधिकारी र गृहका अधिकारीबीच पनि बिहीबार छलफल भएको थियो।सुरक्षाका दृष्टिकोणले सबैभन्दा थ्रेट मानिएका तराई मधेसका जिल्ला र पूर्वी पहाडी जिल्लामा सभासद्हरूको उच्च सुरक्षा सतर्कता अपनाउने विषयमा गृह र सचिवालयका अधिकारीबीच कुराकानी भएको थियो।