काठमाडौँ । प्रधानमन्त्री सुशील कोइरालाले दल विशेषले सोचेजस्तो नभए पनि समग्रमा सबैको साझा दस्तावेजका रुपमा संविधान आउने बताएका छन् । नेपाल निजामति कर्मचारी सङ्घ र नेपाल निजामती कर्मचारी युनियनको आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एकता घोषणा समारोहलाई सम्बोधन गर्दै उनले भने–‘अहिलेको सबैभन्दा ठूलो कुरा संविधान आउनुप¥यो, त्यो आउँछ ।’ संविधानसभामा नेपाली काँग्रेस ठूलो दलको हैसियतले उपस्थित भएको हुँदा पार्टी पङ्क्ति एक ढिक्का भएर सबैलाई मिलाएर अघि बढ्ने थप जिम्मेवारी रहेको बताउँदै प्रधानमन्त्री कोइरालाले भने , ‘जटिलतामा काम गर्नुपरेको छ, अहिलेको आवश्यकता र बल भनेकै एकता हो ।’ उग्रवामपन्थी र चरम दक्षिण राजनीतिक धार बोकेका शक्तिलाई लोकतान्त्रिक मूल्य मान्यतामा प्रवेश गराउन गरिएको प्रयास र सफलताको प्रसङ्ग सुनाउँदै उनले भने, ‘लोकतान्त्रिक मूल्य मान्यतामा रही अब बहुदलीय प्रतिस्पर्धामा उत्रनुको विकल्प छैन ।’ नेपाली काँग्रेस आफ्नै करणले विगत केही समय कमजोर बन्न पुगेको हो भनेर सबै नेताहरुले स्वीकार गर्नुपर्ने आवश्यकता औँल्याउँदै नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री कोइरालाले भने, ‘कोबाट कहाँ त्रुटि भयो भनेर तपार्इंहरुले औंल्याउनुपर्छ, आलोचना गर्नुपर्छ, सबैले इमान्दार भएर काम गरे भने न संस्था बलियो हुन्छ ।’ प्रधानमन्त्री कोइरालाले निजामती सङ्गठनका पदाधिकारीलाई कागजमा सम्झौता गरेर होइन, विश्वास बढाउने काम गर्न सो अवसरमा निर्देशनसमेत दिए । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले निर्वाचित संस्थाले बनाएको कानुन कार्यान्वयन गर्ने स्थायी सरकारका रुपमा रहेका निजामती कर्मचारीबाट जनताको हृदय जित्ने काम हुनपर्छ भने । उनले भने, ‘एउटै विचार र मूल्य मान्यता बोकेका सङ्गठनबीचको एकताले पार्टीलाई ठूलो सहयोग मिलेको छ ।’ उपसभापति रामचन्द्र पौडेलले सरकारलाई दबाब सिर्जना गरेर आफ्नो अधिकार प्राप्त गर्नमा ध्यान केन्द्रित नगरी सेवाग्राहीलाई सरल, सुलभ, छिटो र पारदर्शी रुपमा सेवा प्रदान गर्नेमा सङ्गठनलाई विशेष ध्यान पु¥याउन सुझाव दिए । उनले भने, ‘लामो समयदेखिको राजनीतिक गतिरोधको निकास र भूकम्पले ध्वस्त पारेको भौतिक संरचनाको नवनिर्माण र मुलुकको विकासमा नेपाली काँग्रेसको नेतृत्वले लिनेछ ।’ प्रजातान्त्रिक मूल्य मान्यता र आर्दश बोकेका दुवै संस्थाबीचको एकीकरणपछि सङ्गठनको नाम नेपाल निजामती कर्मचारी युनियन (सङ्घ) राखिएको छ ।
एकीकरण घोषणा कार्यक्रममा ती दुई सङ्गठनका बीच भएको एघार बुँदे सहमतिमा अध्यक्षमा सुवोधकुमार देवकोटा र सहअध्यक्षमा शोभाखर रेग्मी रहने उल्लेख गरिएको छ । आगामी फागुन १३ देखि १५ सम्ममा एकता महाधिवेशन गर्नेगरी सङ्घको ७५ सदस्यीय तदर्थ कार्यसमिति गठन गरिएको छ ।