काठमाडौं । सार्वजनिक कार्यक्रममा महिलाहरूमाथि अश्लिल हर्कत गरेका कृषिमन्त्री हरिप्रसाद पराजुलीले राजीनामा दिएका छन् । एमाले स्रोतका अनुसार उनले गएराती नौ वजे पार्टी अध्यक्ष केपी ओलीको निवासमा पुगेर राजीनामा बुझाएको बताइएको छ । असार १५ को रोपाइँ कार्यक्रममा महिलाहरुमाथि अश्लिल हर्कत गरेपछि मन्त्री पराजुलीको सबैतिर आलोचना भएपछि उनले पार्टी अध्यक्षलाई राजीनामा बुझाएका हुन ।
यस विषयमा कृषिमन्त्री पराजुलीसँग एमाले अध्यक्ष केपी ओलीले बुधबार स्पष्टीकरण लिएका थिए । ओलीले आफ्नै निवास बालकोट बोलाएर उनीसँग स्पष्टीकरण लिएका हुन्। करिब आधा घन्टा भएको छलफलमा पराजुलीले आफ्नो त्यस्तो खराब नियत नभएको जानकारी गराएको स्रोतले बतायो। उनले घटना छानबिन गर्न र दोषी प्रमाणित भए आफू जस्तोसुकै सजाय भोग्न तयार रहेको पनि बताएका थिए।
यो घटनापछि ओली र पार्टीका वरिष्ठ नेता माधव नेपाल पक्षधर दुवैले पराजुलीलाई सरकारबाट फिर्ता हुन दबाब दिएका छन्। मन्त्री पराजुलीले उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमलाई पनि बुधबार दिउँसो भेटेर स्पष्टीकरण दिए। एमाले अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोराले कृषिमन्त्रीको हर्कत निन्दनीय भएको उल्लेख गर्दै यस विषयमा पार्टीको शीर्ष नेतृत्वसँग छलफल गर्ने बताएका छन्। यसैबीच मन्त्री पराजुलीको हर्कतका बारेमा संसदमा समेत बिरोध भएको थियो ।