काठमाडौं । आउदो २१ महिनाका लागि नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा पशुपति मुरारका निर्विरोध भएका छन् । अध्यक्ष चयनका लागि हुन लागेको बिषेश साधारण सभामा अध्यक्षमा उमेद्वारी दिएकी भवानी राणाले उमेद्वारी फिर्ता लिएकी छिन् ।राजधानीको नक्सालमा आज पत्रकार सम्मेलन गरी उनले उमेद्वारी फिर्ता लिदैँ आफ्नो समर्थन पशुपति मुरारकालाई रहेको घोषणा गरेकी छिन् । अध्यक्षमा उमेद्वारी दिएका भाष्करराज राजकर्णिकारले पनि यसअघि हिजो अध्यक्षको उमेद्वारी फिर्ता लिँदै मुरारकालाई नै समर्थन गरेका थिए । कर्णिकार र राणाले उमेद्वारी फिर्ता लिएपछि मुरारका अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । सहमतिका लागि बाटो खुलाउन आफूले मुरारकालाई समर्थन गरेको राणाले पत्रकार सम्मेलनमा बताईन । निजी क्षेत्र र महासंघको हकहितका लागि आफूले मुरारकालाई समर्थन गरेको राणाले बताईन । पूर्व अध्यक्षहरुको आग्रह तथा सबै व्यवसायीको आग्रह अनुसार आफूले उमेद्वारी फिर्ता लिएको उनले बताइन । साथै उनले एकता नै आर्थिक विकास भएको कुरामा समेत जोड दिईन । महासंघका अध्यक्ष प्रदीपजंग पाण्डे भ्रष्टाचारको मुद्धामा जेल गएपछि अध्यक्ष पद रिक्त थियो । मुरारका महासंघका कार्यवहाक अध्यक्ष समेत हुन् ।