नेभिगेशन
अन्य

मन्त्रीपरिषदको बैठक बस्दै, असुरक्षित बस्ती स्थानान्तरण गर्ने तयारी

काठमाडौं । भूकम्पको कारण पहिरोको उच्च जोखिममा परी सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने १८ जिल्लाका बस्ती र सार्ने ठाउँको निर्णय गर्नका लागि आज मन्त्रिपरिषद् बैठक बस्दैछ । बिहान ९ वजेपछि प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने बैठकले खानी तथा भूगर्भ विभागका साथै सभासद र जिल्ला प्रशासन कार्यालयको सुझावका आधारमा सहरी विकास मन्त्रालयले जोखिम बस्ती स्थानान्तरणसम्बन्धी प्रस्तावका बारेमा निर्णय लिने बताइएको छ । सहरी विकास मन्त्रालयका अनुसार रामेछापका ५ हजार ५ सय ४८, गोरखाका २ हजार २ हजार ८२, सोलुखुम्बुका १ हजार ७ सय ३६, धादिङका १ हजार ६ सय ४२, मकवानपुरका १ हजार २ सय ३८, सिन्धुलीका ८ सय ७, ओखलढुंगाका १ सय ३, लमजुङका ५९ घरधुरी स्थानान्तरण गर्न प्रस्ताव गरिएको छ । सिन्धुपाल्चोकका ९ गाविसका विभिन्न बस्ती स्थानान्तरण गर्ने प्रस्ताव छ । दोलखाका ४९ बस्ती, रसुवाका २ गाविस स्थानान्तरणको योजना छ । यस्तै नुवकोटमा ९ बस्ती, काभ्रेका ५, ललितपुरका ८ र काठमाडौंका २ बस्ती स्थानान्तरणको प्रस्ताव छ । अध्ययनले ३८ बस्ती मध्यम जोखिममा रहेको भन्दै सजग रहन सिफारिस गरेको छ । गोरखामा ताङद्राङ गाविसको मैथुम र आरुचनौटे गाविसको आरुटारका बासिन्दा सजग रहनुपर्नेछ । धादिङमा लापा गाविसको कपुरगाउँ, सुनौला बजार गाविसको भैरवी मन्दिर र कटुन्जे गाविसको बाहुनगाउँलाई पनि मध्यम जोखिमको सूचीमा राखेर सजग रहन भनिएको छ । नुवाकोटमा ताङग्रिङ, गोगने, धनसार छोलङ, आत्मारे, आल्डाँडा र तल्लो स्यांग्लेन, ठूलो गाउँ, गुन्सा गाउँ, गहटार र कामी डाँडाका १० वटा बस्तीलाई सजग रहनपर्ने सूचीमा राखिएको छ । रसुवामा राम्चे गाविसको ग्रान र तेम्रान गाउँ, ठूलागाउँ गाविसको पहिरे गाउँ र ठूलागाउँ सजग रहनुपर्नेमा छन् । सिन्धुपाल्चोकमा फुलपिनकट्टी गाविसको सिलिनकट्टी र फुलपिन तथा मार्मिङ गाविसको मार्मिङ र पोखरी बस्ती सजग रहनुपर्नेमा छन् । विज्ञहरूको स्थलगत प्रतिवेदनमा जोखिम बस्तीहरू स्थानान्तरण गरिने अस्थायी ठाउँसमेत सुझाइएको छ । स्थायी स्थानान्तरणका लागि विस्तृत भौगर्भिक अध्ययनका साथै हावापानी, धर्म, संस्कृतिलगायतको विस्तृत अध्ययन गर्नुपर्ने भएकाले तत्कालका लागि अस्थायी स्थानान्तरणका लागि नजिकको सुरक्षित ठाउँ छनोट गरी सिफरिस गरिएको छ । खानी तथा भूगर्भ विभागले गोरखाको लाप्राक गाविसलाई पहिरोको उच्च जोखिममा रहेको ठहर्‍याउँदै स्थानान्तण गर्न सिफारिस गरे पनि स्थानीयवासीले अस्वीकार गरेका छन् । भूकम्पपछि पहिरोको जोखिम बढेको लाप्राकका बासिन्दालाई तत्काल स्थानान्तरण गर्नुपर्ने सूचीमा छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्