काठमाडौं । खेलकुद मन्त्री हटाउने विषयमा पार्टीभित्र बिवाद बढ्दै जाँदा एमाले अध्यक्ष केपी ओली सहभागि भएको कार्यक्रम पार्टी दुईजना बरिष्ठ नेताले बहिष्कार गरेका छन् । सोमबार जननेता मदन भण्डारीको जन्म दिनको अवसरमा राजधानीका आयोजित कार्यक्रम केपी ओली सहभागि हुने भएपछि बरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल सहभागी भएनन्।
मदन भण्डारी फाउण्डेशनले काठमाडौंमा सोमबार गरेको कार्यक्रममा खनाल र नेपाल नगएका हुन्। एमालेका पूर्व महासचिव मदन भण्डारीको जन्मदिनको अवसर पारेर फाउण्डेशनले गरेको कार्यक्रममा दुबै नेताले सहभागी हुने प्रतिवद्धता जनाएका थिए।
फाउण्डेशनकी अध्यक्ष विद्या भण्डारीले भनिन् ‘हामीले बोलाएका थियौं तर उहाँहरु आउनुभएन।’ कार्यक्रममा पार्टी उपाध्यक्ष बामदेव गौतम, सचिव प्रदीप ज्ञवाली, स्थायी समिति सदस्य शंकर पोखरेल, मन्त्रीहरु खगराज अधिकारी, राधा ज्ञवाली, महेश बस्नेत पनि सहभागी भएका छन्। उनीहरु सबै अध्यक्ष ओली निकटका मानिन्छन्। युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवमा केशवराज विष्टलाई नियुक्त गरेपछि एमाले अध्यक्ष ओली रुष्ट बनेका थिए। उनले त्यस निर्णय सच्याउन वा राजीनामा दिन मन्त्रीलाई आग्रह गरेका थिए। अध्यक्ष ओलीको यस्तो ब्यबहारबाट पार्टीका बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल रिसाएको समाचार सार्वजनिक भएको थियो।