नेभिगेशन
अन्य

मस्यौदा समितिमा देखिएको विवादमा दलहरु थप छलफलमा

काठमाडौँ । मस्यौदा समितिमा केहि विषयमा विवाद देखिएपछि प्रमुख चार राजनीतिक दलका शीर्ष नेताहरु आज बिहान छलफलमा जुटेर टुंगो लगाउने तयारीमा लागेका छन् । नेताहरुले संविधान लेखनमा देखिएका असहमतिका विषयलाई सहमतिमा रुपान्तरण गर्न थप छलफलको आवश्यकता औल्याएका हुन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा हिजो साँझ बसेको प्रमुख चार दलका शीर्ष नेतृत्वको बैठकले सो आवश्यकता औँल्याएको हो । संविधान मस्यौदा समितिअन्तर्गतको कार्यदलले तयार पारेको मस्यौदामा सहमति जुट्न बाँकी रहेका विषयमा बहस भएपनि पूर्ण निष्कर्षमा पुग्न थप छलफलको आवश्यकता देखिएको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेताहरुले सहमति जुटाउन थप छलफलको आवश्यकता देखिएकाले आइतबार बिहान पुनः छलफल गर्ने गरी बैठक स्थगित गरिएको जानकारी दिए । दलहरुबीच बहुलवाद, मत प्रतिशत सीमा (थ्रेसहोल्ड), विशेष स्वायत्त प्रदेश, धार्मिक स्वतन्त्रता, संविधान संशोधनलगायत २७ बुँदामा दलगत धारणा राख्ने काम भएपनि अन्तिम रुप दिन थप केही छलफलको आवश्यकता देखिएको उनीहरुको भनाइ थियो । नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलका अनुसार केही विषयमा थप छलफलको आवश्यकता देखिएकाले आज बैठक अन्तिम रुप दिन लागिएको हो । उनले सबै दलले आ–आफ्ना धारणा राखेर टुङ्गो लगाउने क्रममा रहेपनि मस्यौदा समितिको बैठक राख्नुपर्ने भएकाले स्थगित गरिएको जानकारी दिए । दलहरुबीच भएको सोह्रबुँदे सहमतिका आधारमा मस्यौदा समितिले एकीकृत मस्यौदा तयार पारेको भएपनि केही बुँदामा असहमति कायम रहेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्