नेभिगेशन
अन्य

उद्योग बाणिज्य महासंघको अध्यक्षका लागि भवानी, पशुपति र भास्कर मैदानमा

काठमाडौँ । नेपालका उद्योगी व्यापारीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको नयाँ अध्यक्ष बन्नका लागि शनिबार भवानी राणा, पशुपति मुरारका र भास्करराज राजकर्णिकार गरी तीन जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। महासंघका कार्यकारिणी सदस्य भवानी राणाले गुलरिया उद्योग वाणिज्य संघको प्रस्तावमा उम्मेदवारी दर्ता गरेकी हुन्। उनलाई दुई उपाध्यक्ष दिनेश श्रेष्ठ र किशोर प्रधानको समर्थन छ। त्यसैगरी कार्यवाहक अध्यक्ष पशुपति मुरारकाले लहान उद्योग वाणिज्य संघको प्रस्तावमा उम्मेदवारी दर्ता गरेका छन्। साढे १० बजे नै उनले उम्मेदवारी दर्ता गराउने भनिए पनि भास्करराज राजकर्णिकारसँगको छलफलका कारण दोस्रो नम्बरमा उनको उम्मेदवारी दर्ता भएको हो। तेस्रो नम्बरमा माला लगाएर आएका भास्करराज राजकर्णिकारले नेपाल विज्ञापन संघको प्रस्तावमा उम्मेदवारी दर्ता गरे। राजकर्णिकार अघिल्लो निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार भए पनि प्रदीपजंग पान्डेसँग पराजित भएका थिए। ४२ वर्ष पुरानो भ्रष्टाचार मुद्दामा पान्डे जेल जानु परेपछि महासंघको कार्यकारिणी समितिले उनलाई बर्खास्त गर्दै रिक्त भएको अध्यक्ष पदका लागि असार १८ गते निर्वाचन गर्न लागेको हो। महासंघमा सर्वसम्मत नेतृत्वका लागि नौ जना पूर्व अध्यक्षहरुले प्रयास गरे पनि त्यो सार्थक हुन सकेन।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्