सिन्धुपाल्चोक । वर्षासँग गएको बाढीपहिरोले नेपाल–चीन व्यापारिक केन्द्र तातोपानी नाका अस्तव्यस्त भएको छ । धाँजाधाँजा भएका जमिन खस्न थालेपछि बाह्रबिसे–तातोपानी खण्ड २६ किमि सडकमा हिंड्नै नसक्ने भएको छ । अरनिको राजमार्ग झ्याले भीरदेखि मितेरी पुलसम्मका सडक नाजुक छन् । सडक बन्द भएपछि चिनियाँसँग बैठक बस्न शुक्रबार तातोपानी भन्सार र अध्यागमनका कर्मचारी हेलिकप्टरमा सीमा क्षेत्र गएका छन् । भूकम्पले मितेरी पुल चर्केको र पहिरो नरोकिएकाले असुरक्षा देखाउ‘दै चिनियाँले दुई महिनादेखि सीमा क्षेत्र बन्द गराएको छ । पहिलो भूकम्पबाट क्षतिग्रस्त राजमार्ग सडक विभाग र चिनियाँ पक्षको सहयोगमा केही दिन खुले पनि सातादेखि पैदल हिंड्नसमेत जोखिम भएको छ । काम गर्नै जोखिम भयो, सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख कमलेशकुमार कर्णले भने, ‘बनाउँदै जान्छौं, भत्कँदै जान्छ । झ्याले भिर, चाकु, डाकलाङ, हिन्दी, लार्चा, दसकिलो, घट्टेखोला र लिपिङमा पहिरो आइरहेको छ । ‘सयसय मिटरमा पहिरो छ,’ त्यहाँबाट फर्केका रामचन्द्र पराजुलीले भने, ‘सामान्य प्रयासले सडक सुचारु गर्न सकिन्न ।