नेभिगेशन
अन्य

अन्तराष्ट्रिय दाता सम्मेलनको यस्तो छ कार्यतालिका

काठमाडौं । बिहीबार बिहान ८ बजे सुरु हुने सम्मेलनमा राष्ट्रिय गीत, भूकम्पबाट निधन भएकाप्रति मौनधारण र भूकम्पबाट अधिक प्रभावित क्षेत्र तथा क्षतिग्रस्त भौतिक संरचनाको दृश्य समेटिएको वृत्तचित्र प्रदर्शनपछि परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले अतिथिको स्वागत गर्नेछन् । ८ः४५ बजे प्रधानमन्त्री सुशील कोइरालाले सम्मेलनको उद्घाटन गर्नेछन् । अर्थमन्त्री डा रामशरण महतले सम्मेलनबारे प्रकाश पार्नेछन् । सहभागी विदेशी पाहुनाको सम्बोधनपछि पहिलो सत्रको कार्यक्रम सम्पन्न हुनेछ । दोस्रो सत्रको अध्यक्षता सम्मेलन आयोजक समितिका संयोजक अर्थमन्त्री महतले गर्नेछन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा।डा।गोविन्दराज पोखरेलले विपत्पछिको आवश्यकता मूल्यांकन (पिडिएनए) प्रतिवेदन प्रस्तुत गर्नेछन् । भूकम्पपछिको पुनस्स्थापना तथा पुनस्निर्माणका लागि सरकारले रु छ खर्ब ६९ अर्ब आवश्यक पर्ने क्षेत्रगत विवरणयुक्त पिडिएनए प्रतिवेदन तयार गरेको छ । उक्त प्रतिवेदन पनि सम्मेलनमा प्रस्तुत हुनेछ । अर्थ सचिव सुमनप्रसाद शर्माले कार्यक्रममा स्रोत परिचालन तथा भूकम्पपछिको अवस्था र कार्यान्वयनका विषयमा जानकारी दिएपछि पिडिएनएमाथि छलफल हुनेछ । अपराह्न १ बजेदेखि पुनःनिर्माणका सम्बन्धमा तयार पारिएको भिडियो प्रदर्शन गरिने र त्यसपछि ३ बजेसम्म सहभागीहरुलाई प्रतिबद्धता जनाउन दिन समय उपलब्ध गराइनेछ । अपराह्न ३ः३० बजेदेखि सुरु हुने प्राविधिक सत्रको सहअध्यक्षता आयोगका पूर्व उपाध्यक्ष डा शंकर शर्मा र जापानका यासुमासा नागानीले संयुक्त रुपमा गर्नुहुनेछ । यस सत्रमा आयोगका सदस्यद्वय डा गोविन्द नेपाल र स्वर्णिम वाग्लेले पुनःनिर्माणका लागि दीर्घकालीन कार्यसूची र रणनीति बारे प्रस्तुति दिनेछन् । यस सत्रमा जाइकाका अध्यक्ष अकिहितो तानाकाले बिल्ड ब्याक बेटरमा आधारित पुनःनिर्माण र तकिया किमियोले सहरी पुनःनिर्माण सम्बन्धमा आफ्नो प्रस्तुति दिनेछन् । त्यसपछि विश्व बैंकद्वारा तयार पारिएको ग्रामीण बसोबाससम्बन्धी प्रस्तुति पेस गरिनेछ । त्यसपछिको छलफलसागै यस सत्रको समापन हुने अर्थमन्त्रालयले जनाएको छ । अपराह्न ४ः५० सुरु हुने दोस्रो चरणको प्राविधिक सत्रमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव डा सोमलाल सुवेदी र भारतका पिके मिश्रले संयुक्तरुपमा सहअध्यक्षता गर्नु हुनेछ । यस सत्रमा गृहमन्त्रालयको खोजी, उद्धार र राहत तथा भारतका डा वेन्काटेक्लम थिरुप्पुगजबाट विपद् व्यवस्थापन र क्षमता अभिवृद्धि सम्बन्धी प्रस्तुति हुनेछ । त्यसैगरी, सम्मेलनको अन्त्यमा एसियाली विकास बैंकको सार्वजनिक सेवासम्बन्धी प्रस्तुति हुनेछ । त्यसपछि छलफल भई सहअध्यक्षको मन्तव्यसागै अपराह्न ५ः५० बजे सम्मेलन सम्पन्न हुनेछ । राजधानीको होटल सोल्टीमा सम्मेलनका सबै कार्यक्रम तय गरिएको छ । सम्मेलनमा भाग लिन आउने विशिष्ट अतिथिको सुरक्षाको प्रबन्ध सरकारले मिलाएको छ । सम्मेलनका संयोजक तथा अर्थमन्त्री महतका अनुसार सम्मेलनको सुरक्षाको व्यवस्था गृह मन्त्रालयले र पाहुनाको मर्यादा क्रमअनुसारको आतिथ्यताको प्रबन्ध परराष्ट्र मन्त्रालयले गरेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्