नेभिगेशन
अन्य

काठमाडौंका १५ सभासदले मागे उपत्यका पुर्ननिर्माणका लागि छुट्टै संयन्त्र

काठमाडौं । उपत्यकाका सभासदहरुले उपत्यकाको एकीकृत विकास तयार पार्न छुट्टै संयन्त्र गठनको माग गरेका छन् । नेपाली कांग्रेसका सभासद् नविन्द्रराज जोशीको नेतृत्वमा गएका उपत्यकाका सभासदहरुले प्रधानमन्त्री सुशील कोइरालालाई उपत्यकाको पुर्ननिर्माणका लागि अलगै संयन्त्रको माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका हुन् । उपत्यकाका १५ जना सभासदको नेतृत्वको गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका सभासद् जोशी प्रधानमन्त्री समक्ष ३३ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् । ध्यानाकर्षण पत्रमा सरकारले बनाएको पुनर्निर्माण प्राधिकरणमा उपत्यकाका सभासदहरुको सहभागिता हुनु पर्ने माग गरिएको छ । काठमाडौं उपत्यकाको एकीकृत विकास योजना बनाउन छुट्टै संयन्त्र बनाउने र त्यसको नेतृत्व सभासदहरुको संयन्त्रले गर्न पाउनुपर्ने माग ज्ञापन पत्रमा गरिएको छ । जसमा सबै मन्त्रालयका प्रतिनिधि, योजना आयोग, उपत्यका विकास प्राधिकरण, नगरपालिका लगायतको सहभागिता रहनेछ । संयन्त्रले आम नागरिकसँग समेत छलफल गरी ६ महिनाभित्र उपत्यकाको एकीकृत विकास योजना बनाउनेछ । सभासद्हरुले विकाश या पुनःनिर्माणको अभियानमा सांस्कृतिक मूल्य र मान्यतालाई पनि मध्यनजर गरी एकमुष्ट रुपमा योजना तर्जुमा गरिनुपर्ने, काठमाडौँ उपत्यकाको पुनःनिर्माण र पुनःउत्थानका लागि उपत्यकालाई तीन भागमा विभाजन गरी सहरी भित्री भाग, सहरी बाहिरी भाग र पुरातात्विक सांस्कृतिक महत्वका भाग विशेष प्रकृतिअनुरुपको योजना तर्जुमा गर्न सुझाएका छन् । उपत्यकाको एकीकृत विकासका लागि विशेष कोष स्थापना गर्नु पर्ने उपत्यकाका सभासदहरुको प्रस्ताव छ,जसमा नागरिकको पनि लगानी हुनेछ । सांस्कृतिक सम्पदाहरुको पुनर्निर्माण गर्दा सोही क्षेत्रका सभासदको नेतृत्वमा अन्य सभासद समेत रहने गरी आवश्यक व्यवस्था गर्नु पर्ने, हरेक पर्वमा गरिने जात्रा, पर्वलाई रोक्न नहुने पनि माग छ । ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री सुशील कोइरालाले पुनर्बासका कामको थालनी नभएकोले आफूले देखेका सुझावहरु निर्धक्क भएर दिन पनि आग्रह गरे । दाता सम्मेलनमा उपत्यकाको पुनःनिर्माण गर्दा यहाँका सांस्कृतिक धरोहर सुरक्षित र सुविधा सम्पन्न बनाउनेबारे दाताहरुबीच छलफल होस् भनी सभासद्हरुले प्रधानमन्त्रीसमक्ष आग्रह गरेका छन् । सभासद्हरुले उपत्यकाको विभिन्न स्थानमा गई स्थलगत निरीक्षण गरी भूकम्पपछिको विनाश र सम्भावनाबारे अध्ययन र जनतासँग छलफल गरेका थिए । अध्ययनका क्रममा अहिलेसम्म अनुमानभन्दा धेरै क्षति भएको पाइएको र प्रभावित क्षेत्रका भग्नावशेष तत्काल हटाउन आवश्यक रहेकाले त्यसका लागि तत्काल औजार तथा सामग्री उपलब्ध गराउन सरकारलाई आग्रह गरिएको सभासद् नवीन्द्रराज जोशीले बताए । ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्