नेभिगेशन
अन्य

नेताहरुबीच कुरा नमिलेपछि मस्यौदा समितिको बैठक दुईदिनपछि

काठमाडौं । कार्यदलले तयार पारेको एकीकृत मस्यौदाबारे छलफल गर्न बसेको संविधान मस्यौदा समितिको बैठक असार ११ गतेसम्मका लागि स्थगित भएको छ। बुधबार एक बजे सिंहदरबारमा बसेको बैठक १५ मिनेट बसेर स्थगित भयो। विवादित विषयमा अझै छलफल गर्नुपर्ने भन्दै बैठक दुई दिन पछि सारिएको हो। ‘हामी विवादित विषयमा औपचारिक र अनौपचारिक छलफलमा नै छौ,’ मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले भने ‘भोली मस्यौदा प्रिन्टिङ लगायतका कामहरु पनि गर्नुपर्नेछ, त्यसपछि बैठक बसेर यसलाई टुंग्याउँछौं ।’ यसअघि नयाँ संविधानको मस्यौदा बनाउन गठित कार्यदलले एकीकृत मस्यौदा बुधबार समितिमा पठाउने तयारी थियो। तर विवादित विषयमा दलहरुबीच सहमति नभइसकेकाले बैठक स्थगित गरिएको हो। विवादित विषयमा सहमति जुटाउन बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताको बैठक पनि बसेको थियो। बैठकमा मस्यौदा समितिका सदस्यहरुले विवादित विषयबारे शीर्ष नेताहरुलाई ब्रिफिङ गरेका थिए। बिफ्रिङपछि नेताहरुले विवादमा थप छलफल गर्ने भन्दै काम अगाडि बढाउने बताएका थिए। बैठकपछि एमाले उपाध्यक्ष भीम रावलले दुई दिनभित्र शीर्ष तहमा विवादमा सहमति जुट्ने बताए। मस्यौदा लेखनमा प्रदेशभित्र विशेष स्वायत्त क्षेत्र बनाउने वा नबनाउने, प्रदेशसभा र स्थानीय निकायको निर्वाचन प्रणाली कस्तो हुने, नागरिकता र मौलिक हकको विषयमा विवाद देखिएको छ। ती विवादबारे मस्यौदा समितिले बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख दलका शीर्ष नेताहरुसँग पनि छलफल गरेको थियो। कति भाग कति धारा टुंगिएको छैन कार्यदलले तयार पारेको एकीकृत मस्यौदामा ३५ भाग र ३ सय १२ धारा रहेको छ। तर मस्यौदा समितिका सदस्यहरु यो नै अन्तिम नभएको बताउँछन्। ‘संविधानमा यति भाग र यति धारा भन्ने टुंगिएको छैन’ मस्यौदा समितिका सदस्य अइन्द्र सुन्दर नेम्वाङले भने ‘अझैपनि छलफलकै क्रममा छ, बहुलबाद राख्ने वा नराख्ने विवाद पनि कायमै छ।’ प्रमुख चार दलले संविधानका विवादित विषयमा सहमति गरेपछि मस्यौदा समितिले लेखन सुरु गरेको थियो। त्यसका लागि गठित कार्यदलले कार्यदलले पाँच वटा उपसमितिले तयार गरेको मस्यौदा एकीकृत बनाउने तथा विवादमा सहजीकरण गर्दै लेखन अगाडि बढाएको थियो। जसमा न्यायपालिकाका विषयमा रमेश लेखक, प्रस्तावना लेखन विषयमा जितेन्द्र देव, ब्यवस्थापिका विषयमा भरतमोहन अधिकारी, मौलिक हक विषयमा अइन्द्रसुन्दर नेम्वाङ र कार्यपालिका सम्बन्धि विषयमा भने हितराज पाण्डे संयोजकत्वको उपसमितिले मस्यौदा तयार गरेको थियो। पछि पाँच वटै उपसमितिका संयोजक र सभापति रहेको कार्यदलले मस्यौदालाई एकीकृत गरेको थियो। बुधबार र बिहीबार छलफल भएपछि असार ११ गते बैठक बस्ने र लगातार तीन दिन छलफल गरेपछि असार १३ गते बेलुकासम्म मस्यौदा लेखन पूरा हुने सभापति सिटौलाले बताए। ‘११ गते बैठक सुरु भएपछि लगातार तीन दिन छलफल गर्छौं र १३ गते बेलुकासम्म मस्यौदा लेखन सिध्याउँछौ’ उनले भने।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्