नेभिगेशन
अन्य

भूकम्पपीडितलाई आवाससहितको छात्रवृत्ति

काठमाडौँ । भूकम्पबाट अति प्रभावित विद्यार्थीले उच्च मावि तहको अध्ययनका लागि आवास सुविधासहितको छात्रवृत्ति पाउने भएका छन् । बाबु आमामध्ये कम्तीमा एक जना गुमाएका वा घरमात्र गुमाएका वा स्वयम् घाइते भएकामध्ये कम्तीमा कुनै एउटा पीडामा परेका विद्यार्थीलाई छात्रवृत्ति दिन लागिएको हो । प्रवेशिका परीक्षा उत्तीर्ण गरी कक्षा ११ मा अध्ययन गर्न चाहने वा कक्षा ११ को परीक्षा दिई कक्षा १२ मा अध्ययन गर्न चाहने भूकम्पपीडित विद्यार्थीलाई छात्रवृत्ति दिन लागेको उच्चमाध्यमिक शिक्षा परिषद्ले जनाएको छ । भूकम्पबाट अति प्रभावित भनी नेपाल सरकारद्वारा घोषणा गरिएका १४ जिल्लाका विद्यार्थीलाई मात्र सो सुविधा उपलब्ध गराइने पनि परिषद्ले स्पष्ट पारेको छ । छात्रवृत्तिका लागि विद्यार्थीले परिषद्को सम्बन्धन महाशाखामा सम्पर्क गर्नुपर्ने अन्तिम मिति यही असार २५ गतेलाई तोकिएको छ । भूकम्प प्रभावित अथार्थ विवरणसहितको गाविस वा नगरपालिकाको सिफारिसपत्र, विद्यार्थीले अध्ययन गरेको विद्यालयको सिफारिसपत्र, सम्बन्धित जिल्ला दैवीप्रकोप उद्धार समितिको वर्गीकरणसहितको सिफारिसपत्र र कक्षा ११ वा १२ मा अब पढ्ने हो भन्ने पुष्टि गर्ने प्रमाणसहित निवेदन दिन परिषद्ले सबै विद्यार्थीलाई आग्रह गरेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्