गोरखाबजार । चालकले ठाउँ नचिन्दा उत्तरी गोरखाको सामागाउँ गाविस–९ स्थित साम्दो गाउँ नजिकै सिम्रिक एअरको हेलिकप्टर दुर्घटनाग्रस्त भएको खुलेको छ । ९ एन एकेएफ कलसाइन भएको हेलिकप्टर पल्टेपछि आगलागी भएको थियो । सामागाउँ बजारमा अवतरण गर्नुपर्ने हेलिकप्टर साम्दो गाउँ नजिकै भिरालो चौरमा अवतरण भएपछि पुनः सामागाउँतर्फ उडाउने क्रममा अनियन्त्रित भएर पल्टेको हो । ‘सामागाउँमा अवतरण गर्नुपर्ने हेलिकप्टर क्याप्टेन सुरेन्द्र पौडेलले साम्दोमा अवतरण गर्नुभयो,’ हेलिकप्टरमा रहेका खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखाका प्रमुख नारायणप्रसाद आचार्यले भने – ‘सामागाउँ भनेको साम्दो भन्ने बुझेर क्याप्टेनले साम्दोमा हेलिकप्टर अवतरण गर्नुभयो ।’ साम्दोबाट पुनः सामागाउँतर्फ उड्न लाग्दा अनियन्त्रित भएर हेलिकप्टर पल्टेको आचार्यको भनाइ छ । ‘उड्ने बेला भएको थियो । हेलिकप्टर हल्लियो र पल्टियो । एउटा पङ्खा भाँच्चियो,’ आचार्यले भने – ‘धुवाँ पुत्पुताउन सुरु भयो । क्याप्टेनले ढोका खोल्न भ्याउनुभयो र बाँचियो ।’ हेलिकप्टरभित्र रहेका चालक पौडेलसहित खानेपानी कार्यालयका प्रमुख आचार्य, आइएमसी संस्थाका कर्मचारीहरु अमल तुलाधर, विश्व श्रेष्ठ र सौरवराज क्षेत्री थिए । बिहान ९ः४५ बजे काठमाडौँबाट उडेको हेलिकप्टर १०ः५२ बजे साम्दोमा पल्टेको थियो ।
‘एक घन्टासम्म हेलिकप्टरमा आगो लाग्यो,’ उनले भने – ‘आगो निभाउन सक्ने स्थिति थिएन ।’हेलिकप्टरभित्रबाट निसास्सिएर बाहिर निस्केकाले आगो निभाउनेतर्फ कसैले ध्यान दिनै नसकेको आचार्यको भनाइ छ । चालक पौडेलको गोडामा सामान्य चोट लागेको छ । मनाङ एअरको हेलिकप्टरले चालक पौडेलसहित पाँचजनालाई उद्धार गरेको छ । आचार्यलाई गोरखास्थित नाम्जाली डाँडामा र अन्यलाई काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराइएको हो । चालक पौडेलसहित आइएमसीका तीन कर्मचारी काठमाडाँैबाट र खानेपानी कार्यालयका प्रमुख आचार्य गोरखास्थित नाम्जाली डाँडाबाट चढेर उत्तरी गोरखा पुगेका थिए । गोरखा सदरमुकामदेखि ५२ कोस टाढा सामागाउँ पर्छ । सामागाउँदेखि तीन घन्टा टाढाको दूरीमा साम्दो गाउँ पर्छ । साम्दो गोरखाको उत्तरी गाउँ हो ।