काठमाडौँ । प्रधानमन्त्री सुशील कोइरालाले नेपाली सेनाका लागि खरिद गरेर ल्याइएको एमआई १७ हेलिकप्टरको पहिलो उडान सेवाको आज शुभारम्भ गरेका छन् । मन्त्रिपरिषद्को २०६९ फागुन १४ गतेको बैठकले नेपाली सेनालाई सुरक्षा र प्रतिरक्षाका लागि दुईवटा हेलिकप्टर खरिद गर्न स्वीकृति प्रदान गरेको थियो । सेवा शुभारम्भको घोषणा गरेसँगै मन्त्रिपरिषद्का केही सदस्यका साथ प्रधानमन्त्री कोइराला भूकम्पपीडितलाई राहत सामग्री वितरणका लागि सोही हेलिकप्टर चढेर धादिङको झारलाङतर्फ लागेका छन् । नेपाली सेनाले ती दुवै अत्याधुनिक एमआइभी–५ हेलिकप्टर रु तीन अर्ब १८ करोड मूल्यमा रुसबाट गरिद गरेर ल्याएको हो । नेपाली सेनाको हवाई सुरक्षा महानिर्देशनालय मातहतमा सञ्चालनमा रहने ती हेलिकप्टर सैनिक तालिम, प्राकृतिक विपद्मा खोज, उद्धार तथा राहत वितरणलगायत देश र जनताको कल्याणका काममा प्रयोग हुने छन् ।
नेपाली सेनको हवाई क्षमता अभिवृद्धि गर्ने हेतुले ती हेलिकप्टर खरिद गरिएको नेपाली सेनाले जनाएको छ । दुवै हेलिकप्टरको कल साइन एनए ०५६ र ०५७ राखिएको छ । जेठ २६ गते काठमाडौँ ल्याइपु¥याइएका ती दुवै हेलिकप्टरको नेपाली सेना र नागरिक उड्डयन प्राधिकरणको प्राविधिक टोलीले असार ४ गते परीक्षण उडान गरिसकेको जनाइएको छ । क्यामोफलाइज रङका सात हजार केजी तौलका ती हेलिकप्टरमा दुईवटा इन्जिन जडान गरिएको छ । विशिष्ट, कार्गाे, पाराजम्म र सामान ओसारपसारलगायत बहुआयामिक रुपमा प्रयोगमा ल्याउन सकिने ती हेलिकप्टरले छ हजार मिटरसम्मको उचाइमा सजिलैसँगै उडान भर्ने क्षमता राख्दछन् । चार हजार केजी तौल वा २६ जना यात्रुलाई सजिलै बोक्न सक्ने ती हेलिकप्टरबाट लामो कार्गाेका सामान पनि एक स्थानबाट अर्काे स्थानमा पु¥याउन सकिनेछ । सामान्य अवस्थामा लगभग २५ वर्षको आयु रहने उक्त हेलिकप्टरलाई कम्पनीले एक वर्षसम्म निःशुल्क रुपमा मर्मतसम्भार गर्ने छ । नेपाली सेनासँग हाल साना ठूला तथा नयाँ पुराना गरी १७ वटा हेलिकप्टर र चारवटा हवाइजहाज रहेका छन् । तीमध्ये १४ वटा हवाई साधनले मात्र उडान भर्न सक्ने बताइएको छ । नेपाली सेनाले केही वर्षअघि तयार गरेको १० वर्षे दीर्घकालीन रणनीतिमा सङ्गठनलाई ३० वटा हवाई साधन आवश्यक पर्ने उल्लेख गरिएको छ ।
ती हेलिकप्टरको प्रथम उडान कार्यमा सहभागी हुन उपप्रधानमन्त्रीद्वय वामदेव गौतम र प्रकाशमान सिंह, अर्थमन्त्री डा रामशरण महत, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजाल, पर्यटन मन्त्री कृपाशुर शेर्पा, प्रधानसेनापति गौरवशम्शेर राणा तथा नेपालका लागि रसियाका राजदूत सर्गेई भासिलिभिच भेलिलिस्किन विमानस्थाल पुगेका थिए ।