काठमाडौं । भूकम्पपछि पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय दातृ निकायसँगको सम्मेलन सुरु हुन चार दिन बाँकी रहेका बेला संविधानसभा अध्यक्ष सुवास नेम्बाङले त्यससम्बन्धी पोस्ट डिजास्टर निड एसिस्मेन्ट (पीडीएनए) बारे संसद्लाई जानकारी नगराएको भन्दै दुख व्यक्त गरेका छन्। राष्ट्रिय विपद् व्यवस्थापन, अनुगमन तथा निर्देशन विशेष समितिको आइतबार बसेको बैठकमा नेम्बाङले भने, ‘पीडीएनए तत्काल संसद्मा पठाएर देश र जनतालाई सम्मेलनबारे जानकारी दिनु सरकारको कर्तव्य हो।’ सम्मेलन पूर्वतयारीका बारेमा अर्थमन्त्री डा. रामशरण महत र परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेमार्फत सरकारलाई निर्देशन दिँदै नेम्बाङले भने, ‘सरकारले पारित गरेको पीडीएनए अविलम्ब संसद्मा उपलब्ध गराउनुपर्यो।’ उनले सम्मेलनको उद्देश्य भूकम्पबाट भएको ठूलो विनाशपछि पनि नेपाल र नेपाली एक ठाउँमा उभिन सफल भएको सन्देश दिनु रहेको बताए।
सम्मेलनअघि नै संविधानसभाभित्र र बाहिर रहेका दलहरूबीच प्रधानमन्त्रीकै नेतृत्वमा रहेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाई पीडीएनएमा छलफल गराएर राष्ट्रिय एकताको प्रदर्शन गराउन पनि सभाध्यक्षले सरकारलाई निर्देशन दिए। सम्मेलनको तयारीमा संसद्को समेत सहभागिता हुनुपर्नेमा नेम्बाङले जोड दिए। यसअघि अर्थमन्त्री डा. रामशरण महतले भूकम्पछि खोज, उद्धार र राहतको कार्य अन्तिम चरणमा पुस्याएर सरकार पुनर्निर्माण र नवर्निर्माणको प्रारम्भमा रहेको बताए। उनले भने, ‘पुनर्निर्माण र नवर्निर्माणका लागि अन्तर्राष्ट्रिय जगत्ले पनि साझेदारी गर्ने हुँदा दातृ सम्मेलन गर्न लागिएको हो। सम्मेलनमा सार्कका सबै सदस्यलगायत ६५ राष्ट्र, दातृ संस्था रहनेछन्। खाडी राष्ट्र पनि सम्मेलनमा आउने उनले बताए।