नेभिगेशन
अन्य

एसएलसीको नतिजामा सामुदायिक सुधारिँदै, निजी खस्कँदै

भक्तपुर । एसएलसीमा गत वर्षभन्दा केही सुधार गर्दै ४७.४३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । नियमिततर्फ ४ लाख ५ हजार ३ सय ३८ परीक्षार्थीमध्ये १ लाख ९२ हजार २ सय ६७ जना उत्तीर्ण भएका हुन् । यो गत वर्षको तुलनामा ३.५१ प्रतिशत बढी हो । आंशिकतर्फ १३.८० प्रतिशत उत्तीर्ण भएका छन् । परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेका अनुसार विशिष्ट श्रेणीमा २१ हजार २ सय ४७, प्रथममा ९० हजार ४ सय ७६, दोस्रोमा ७६ हजार ४ सय ८२ र तेस्रोमा ४ हजार ३ सय ६२ जना छन् । आंशिकतर्फ १ लाख ३६ हजारले परीक्षा दिएकोमा १८ हजार ७ सय ७८ जना उत्तीर्ण भएका छन् । यसमा दुई जना विशिष्ट श्रेणीमा छन् । तीन वर्षयता नतिजा उकालो लाग्न थालेको छ । ०६९ मा ४१.५७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । परीक्षा दिएकामध्ये ५० प्रतिशत पनि पास गराउन सकेको छैन । यो वर्ष २ लाख १३ हजार ७१ जना अनुत्तीर्ण भएका छन् । ‘विगतको तुलनामा प्रगति भएको छ, अपेक्षाअनुसार हुन सकेन,’ शिक्षाविद् प्रा. विद्यानाथ कोइरालाले भने, ‘सापेक्षित प्रगति भयो ।’ परीक्षा दिने छात्रा बढी भए पनि उत्तीर्ण संख्या कम छ । उनीहरूको नतिजा सुधारमा जोड दिन सक्नुपर्ने अर्का शिक्षाविद् डा. विष्णु कार्कीले औंल्याए । ‘यस पटक सुधारको सूचक देखिएको छ । आगामी दिनमा उत्तीर्ण प्रतिशत बढाउने हो भने विद्यालयदेखि परीक्षा केन्द्रसम्म छात्रामैत्री बनाउनु जरुरी छ,’ उनले भने । सामुदायिक विद्यालयको नतिजा सुधार हुनुले शिक्षकले चाहेमा गर्न सक्छन् भन्ने आत्मबल बढाएको कोइरालाले बताए । शिक्षा सचिव विश्वप्रकाश पण्डितले नतिजा सुधारको बाटोमा अघि बढेको बताए । ‘५० प्रतिशत पनि उत्तीर्ण नहुँदा सन्तुष्टि लिने ठाउँ त छैन,’ उनले भने, ‘सुधारको खाँचो छ । शिक्षकले राजनीति छाडेर पढाउन थालेपछि नतिजामा सुधार आएको हो ।’ विद्यार्थी उत्तीर्ण संख्या बढाउन ५ नम्बर ग्रेस दिइएको थियो । यसले १८ हजार २ सय ६० विद्यार्थी उत्तीर्ण भएको द्वारेले बताए । उनका अनुसार एक लाख २४ हजार चार ३६ जना दुई विषयमा अनुत्तीर्ण भएका छन् । त्यसमा एक विषय मात्रै लाग्ने ५५ हजार ५ सय ५५ जना छन् । उनीहरूले साउन २० देखि २७ सम्म मौका परीक्षा दिन सक्ने छन् । यसपालि भूकम्पको त्रास भए पनि परीक्षा भएको ८० औं दिनमा नतिजा सार्वजनिक गर्न सफल भएको हो । प्राविधिको नतिजा एक सातापछि प्राविधिक धारतर्फ अध्ययन गरेका विद्यार्थीको नतिजा एक सातापछि सार्वजनिक हुने भएको छ । त्यसमा साधारणतर्फ जस्तो फेल पास, डिस्टिङसन, पहिलो, दोस्रो श्रेणी उल्लेख गरिएको हँ‘दैन । यसमा कुन ग्रेडमा पास भएको हो, त्यो उल्लेख हुन्छ । साधारणतर्फ आठ सय पूर्णाङकको परीक्षा दिएका थिए भने प्राविधिकतर्फ विद्यार्थीले एक हजार पूर्णाङकको परीक्षा दिएका हुन् । परीक्षा दिनेमा छात्राको संख्या बढी भए पनि उत्तीर्ण हुनेमा छात्रको तुलनामा छात्रा कम छन् । यस वर्ष नियमिततर्फ छात्रभन्दा १ हजार १२ जना बढी छात्राले परीक्षा दिएका थिए । ४ लाख ५ हजार ३ सय ३८ जनाले परीक्षा दिएकोमा २ लाख २ हजार १ सय ६३ जना छात्र थिए । त्यस्तै २ लाख ३ हजार १ सय ७५ जना छात्रा थिए । तर, उत्तीर्ण दरमा छात्राभन्दा छात्र १२।९८ प्रतिशत बढी छन् । परीक्षा नियन्त्रण कार्यालयका अनुसार छात्र ५३।९४ र छात्राको ४० प्रतिशत मात्रै उत्तीर्ण भएका छन् । एसएलसीको इतिहासमा यस वर्ष छात्रा धेरै सहभागी भएका थिए । यो वर्ष सबैभन्दा बढी छात्रा अनुत्तीर्ण भए, किनभने परीक्षा दिएकामध्ये ६० प्रतिशत छात्रा अनुत्तीर्ण भएका छन् । ‘छात्रालाई अगाडि बढायौं । तर, पढाइको स्तर उकास्न कुनै प्रयास गरेनौं,’ शिक्षाविद् डा. विष्णु कार्कीले भने, ‘भर्ना गर्‍यो, एसएलसीसम्म पुर्‍यायौं । सहज वातावरण बनाएनौं ।’ छात्रा उत्तीर्ण बढाउन छात्रामैत्री परीक्षा केन्द्र र छात्रावासको व्यवस्था गरी परीक्षा दिने व्यवस्था गरे सुधार हुन सक्ने उनले बताए । परीक्षा दिन आएका छात्रा बलात्कृत भएको घटनाले उनीहरूको सहज ढंग र सुरक्षित महसुस गरेर परीक्षा दिन सक्ने वातावरण बनाउन नसकेको पुष्टि हुने उनले बताए । अनुत्तीर्ण बढ्नुमा घरको वातावरणले असर गरेको हुन सक्ने शिक्षाविद्हरू बताउँछन् । ‘छोराले स्वतन्त्रता पाए पनि छोरीले घरको कामसमेत भ्याउनुपर्ने बाध्यता हुन्छ,’ उनीहरू भन्छन्, ‘छोरालाई साथीकहाँ गएर पढ्छु भन्दा पनि घरबाट रोकतोक हुँदैन । छोरीलाई त्यति सजिलो हुँदैन ।’ एसएलसीमा सामुदायिक विद्यालयको नतिजा सुधारिँदै गएको देखिन्छ । सामुदायिक विद्यालय पढ्ने विद्यार्थी तीन वर्षअघिको तुलनामा ४।७६ प्रतिशत बढी उत्तीर्ण भएका छन् । ०६९ मा सामुदायिक विद्यालय पढेका विद्यार्थी २८।४२ प्रतिशत उत्तीर्ण भएका थिए । गत वर्ष २८।२९ प्रतिशत भए । यस वर्ष बढेर ३३।१८ प्रतिशत पुगेको छ । ‘शिक्षकले राजनीति छाडेर पढाउन थालेपछि बढ्न थालेको हो,’ शिक्षा सचिव विश्वप्रकाश पण्डितले भने, ‘शिक्षकले पढाउने हो भने नतिजा बढ्छ भन्ने यो वर्षको नतिजाले देखायो ।’ अभिभावकमा पनि सचेतना बढेकाले सामुदायिक विद्यालयमा सुधार आउन थालेको उनले बताए । यस वर्ष सामुदायिकतर्फ ३ लाख २२ हजार ४ सय ५१ विद्यार्थीले परीक्षा फाराम भरेका थिए । यसमध्ये ३ लाख २ हजार ३ सय ९९ जनाले परीक्षा दिए । यसमध्ये १ लाख ३ हजार ४२ जना पास भए । परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारले यस वर्ष विषयगत शिक्षक थपिएकाले सामुदायिक विद्यालयको नतिजा सुधार भएको बताए । ‘नियमित अनुगमन र निरीक्षण बढाएपछि शिक्षकले मिहिनेत गर्न थालेका छन्,’ उनले भने । निजी विद्यालयको भने नतिजा ओरालो लाग्न थालेको छ । गत वर्ष ९३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएकोमा यसवर्ष ८९।३० प्रतिशत मात्र पास भएको कार्यालयले जनाएको छ । निजी विद्यालयका १ लाख २ हजार ९ सय ३९ विद्यार्थीले परीक्षा दिएकामा ९१ हजार ९ सय २५ विद्यार्थी मात्रै पास भएको परीक्षा नियन्त्रक द्वारेले बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्