नेभिगेशन
अन्य

जाने बेलामा प्रधानन्यायाधीशद्वारा विवादस्पद सरुवा

काठमाडौं । प्रधानन्यायाधीश रामकुमारप्रसाद साहले कार्यकालको अन्तिम समयमा आएर पुनरावेदन र जिल्ला अदालतका न्यायाधीशको काज सरुवा गर्ने विवादास्पद निर्णय गरेका छन्। साहको एकल निर्णयअनुरूप मंगलबार ११ न्यायाधीशको काज सरुवा गरिएको छ। नयाँ प्रधानन्यायाधीशको सिफारिस भइसकेको अवस्थामा प्रधानन्यायाधीशले न्यायाधीश काज सरुवा गर्ने परिपाटीले गलत परम्परा बसाउने भन्दै निर्णयको आलोचना भएको छ। साहको कार्यकाल २२ दिन बाँकी छ। प्रधानन्यायाधीश साहको एकल निर्णयअनुरूप पुनरावेदन अदालतका न्यायाधीश शम्भुबहादुर खड्कालाई तुल्सीपुरबाट पाटन, माधव पोखरेललाई विराटनगरबाट पोखरा, प्रेमराज कार्कीलाई पोखराबाट बुटवल, वीरेन्द्रकुमार कर्णलाई बुटवलबाट विराटनगर, थीरबहादुर कार्कीलाई पाटनबाट तुल्सीपुर र न्यायाधीश किशोर सिलवाललाई विराटनगरबाट पाटनमा काज सरुवा गरिएको छ। यस्तै जिल्ला न्यायाधीशहरू ठाकुर शर्मालाई दोलखाबाट धादिङ, रमेशराज पोखरेललाई धादिङबाट काठमाडौं, बालमुकुन्द दवाडीलाई काठमाडौंबाट कास्की, जगतनारायण प्रधानलाई लमजुङबाट सिरहा र उपेन्द्र गौतमलाई रोल्पाबाट लमजुङ जिल्ला अदालतमा काज सरुवा गरिएको छ। साह असार २३ गते अवकाश पाउँदैछन्।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्