काठमाडौं । नेपाली कांग्रेसका सभापतिहरूले भूकम्पका कारण गाउँदेखि जिल्ला अधिवेशन तोकिएको समयमा गर्न सम्भव नभएको बताएका छन्। वैशाख १२ गतेको शक्तिशाली भूकम्पले काठमाडौं उपत्यकासहित धादिङ, सिन्धुपाल्चोक, नुवाकोट, दोलखा, काभ्रे, रसुवा, गोरखासहितका जिल्लामा गाउँदेखि जिल्ला तहको अधिवेशन केही समय सार्नुपर्ने जिल्ला सभापतिहरूले धारणा राखेका छन्। संवैधानिक व्यवस्थाअनुसार भदौ २४ देखि गर्ने भनिएको पार्टीको १३ औं महाधिवेशन सार्न कठिन भए पनि तल्लो तहको अधिवेशन बर्खामा गर्न सम्भव नभएको उनीहरूले बताएका छन्। ‘पूर्वर्निधारित मितिमा गाउँदेखि जिल्ला अधिवेशन कुनै हालतमा सम्भव छैन,’ दोलखा सभापति ताराबहादुर कोइरालाले भने, ‘गाउँ, क्षेत्र र जिल्लाको अधिवेशन भदौमा सार्नुपर्छ।’ भूकम्पबाट अझै कतिपय गाउँ सडक सञ्जालसँग जोडिन नसकेको जनाउँदै कोइरालाले बाटोघाटो केही छैन, साउनमा अधिवेशन सम्भव नभएको बताए । दोलखामा भूकम्पमा परी १ सय ७० जनाले ज्यान गुमाएका छन् भने ४८ हजार ८ सय ८० घर पूर्ण रूपमा भत्केका छन्। भूकम्पका कारण गाउँ–बस्ती खण्डहरमा परिणत भएको बताउँदै सभापतिहरूले मध्यबर्खामा अधिवेशन गर्न ठाउँसमेत अभाव रहेको बताए। ‘भूकम्पपछि जिल्लामा सबैको भागाभाग छ,’ सिन्धुपाल्चोक सभापति मोहनबहादुर बस्नेतले भने, ‘पानी पर्दा ओत लाग्ने ठाउँ छैन, बाटो सबै भत्केका छन्। कसरी अधिवेशन गर्ने ? अधिवेशनमा आएका प्रतिनिधिलाई खाने त के राख्ने ठाउँ पनि छैन।’
तर, पार्टीले जसरी पनि अधिवेशन गर्न निर्देशन दिए विकल्प पनि नभएको बताए। ‘गाउँ, जिल्लामा समस्या छ, तर अधिवेशन गर्नैपर्छ भनेर ह्विप जारी भयो भने गराउनुको अर्को विकल्प केही हुँदैन,’ बस्नेतले थपे।सिन्धुपाल्चोकमा भूकम्पका कारण ३४ सय ४० जनाको ज्यान गएको छ भने ६३ हजार ८ सय ८५ घर पूर्ण रूपमा भत्केका छन्। भूकम्पले जमिन चिरिएको र हल्लिएको हुनाले वर्षासँगै बाढीपहिरोको उच्च जोखिम रहेको जिल्ला सभापतिहरू बताउँछन्। ‘भूकम्पपछिको डेढ महिना सदस्यता वितरणको काम गर्नै सकिएन,’नुवाकोट सभापति जगदीश्वरनरसिंह केसीले भने, ‘बाढीपहिरोको उच्च जोखिममा अधिवेशन गर्न कठिन छ।’ वर्षासँगै आउने बाढीपहिरोले एक गाउँबाट अर्को गाउँ जान नसक्ने अवस्था हुने केसीले बताए। ‘बाढीपहिरोले ल्याउने अर्को विपत्तिमा कसरी अधिवेशन सम्भव छ ?’ केसीले भने, ‘भूकम्पबाट बढी प्रभावित १४ जिल्लामा गाउँदेखि जिल्ला अधिवेशन गर्न कठिन छ, नेतृत्वले बेलैमा निर्णय लिनुपर्छ।’ भूकम्पका कारण नुवाकोटमा १ हजार ९९ जनाको ज्यान गएको छ भने ५७ हजार ९ सय ४३ घर क्षतिग्रस्त भएका छन्। धादिङ सभापति रामनाथ अधिकारीले पनि अहिलेकै अवस्था कायम रहे गाउँदेखि जिल्ला अधिवेशन सम्भव रहेको बताए। ‘यतिकै रहे अधिवेशन सम्भव छ, बर्खासँगै बाढीपहिरोको समस्या थपिए सम्भव छैन,’ उनले भने। भूकम्पले धादिङमा ७ सय ३३ को ज्यान गएको छ भने ४३ हजार ७ सय ४१ घर पूर्ण रूपमा क्षति भएका छन्। भूकम्पपछि आफ्नो जिल्ला बाढीपहिरोको उच्च जोखिममा रहेको सुनाउँदै रसुवा सभापति लामाकार्पु तामाङले भने, ‘हाम्रो कारणले महाधिवेशन रोकिँदैन ।’ रसुवामा ६ सय ६० ले ज्यान गुमाएका छन् भने ७ हजार ४० घर पूर्ण क्षति भएका छन्।
अन्तरिम संविधानमा राजनीतिक दलको अधिवेशन कम्तीमा पाँच वर्षभित्र गर्नुपर्ने उल्लेख छ। तर, कांग्रेसकै कतिपय नेता महाधिवेशनअघि नै नयाँ संविधान जारी हुने भन्दै सोहीअनुसार पार्टीको महाधिवेशन गर्नुपर्ने पक्षमा छन्। मुलुकको भौगोलिक जटिलताका कारण पनि बर्खामा महाधिवेशन सम्भव नरहेको भन्दै केही नेताले फागुनमा सार्न लबिङ थालेका छन्। ‘निर्वाचनका लागि आयोगमा दल दर्ता गर्ने हो,’ एक केन्द्रीय नेताले भने, ‘सधैंका लागि फागुन महाधिवेशनका लागि उपयुक्त समय हो, त्यही बेलालाई सार्नुपर्छ।;
कांग्रेसको १२ औ महाधिवेशन भएको पाँच वर्ष आगामी असोजमा ५ गते पूरा हुँदैछ। त्यसअघि नै महाधिवेशन सम्पन्न गर्नुपर्ने भन्दै पार्टीले भदौ २४ देखि २८ सम्म काठमाडौंमा १३ औं महाधिवेशन गर्ने निर्णय गरेको छ। नगर, वडा, गाउँ अधिवेशन साउन १४ गते गर्ने निर्णय गर्दै उसले २ सय ४० वटा निर्वाचन क्षेत्रको अधिवेशन साउन २२ गते र साउन २६ गते ७५ वटै जिल्लाको अधिवेशन गर्ने निर्णय गरेको छ। त्यस्तै, फागुन मसान्तभित्र नयाँ क्रियाशील सदस्यता र नवीकरण फारम बुझाइसक्नुपर्ने र चैत–वैशाखमा सदस्यता छानबिन सक्ने निर्णय गरे पनि अझै एक दर्जनभन्दा बढी जिल्लाको आन्तरिक विवादका कारण सदस्यता फारम केन्द्रीय कार्यालय आएको छैन।
प्रकाशित मिति: बुधबार, असार २, २०७२