काठमाडौं । दक्षिण एसियाका चार मुलुक भुटान,बंगलादेश,भारत र नेपाल (बीबीआईएन) बीच यातायात सम्झौता भएको छ। यो सम्झौताअनुसार कार्गो ढुवानी, निजी सवारीसधान र सार्वजनिक यातायात निर्वाध रूपले सञ्चालन हुने पाउँनेछन्। ‘मोटर भेहिकल्स एग्रिमेन्ट फर दि रेगुलेसन अफ प्यासेन्जर, पर्सनल एन्ड कार्गो भेहिकुलर ट्राफिक बिटुवीन बंगलादेश, भुटान,भारत एन्ड नेपाल बीबीआईएन एमभीए’ नाम दिइएको यो सम्झौतामा चार देशका यातायात मन्त्रीले भुटानको राजधानी थिम्पुमा सोमबार हस्ताक्षर गरेका छन्। सम्झौता आगामी अक्टोबरदेखि लागू हुनेछ। सदस्य मुलुकबीच क्षेत्रीय सम्पर्क थप प्रभावकारी बनाउने उद्देश्यले यो सम्झौता गरिएको हो। ‘सम्झौताले चार देशबीच यातायात अधिकार, अन्तर्देशीय सीमापार आवागमन, सवारी साधन र जनताको आवागमनलाई प्रवद्र्धन गर्नेछ’हस्ताक्षरपछि जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ। बैठकमा सहभागी हुन नेपालको तर्फबाट भौतिक यातायात तथा पूर्वाधारमन्त्री विमलेन्द्र निधीसहितको प्रतिनिधीमण्डल भुटान गएको थियो। सम्झौतामा हस्ताक्षर भएसँगै नेपाललगायत सबै देशले फाइदा लिने मन्त्री निधिले बताएका छन्। भारतीय यातायामन्त्री नितिन गडकरीले सम्झौताबाट छिमेकी मुलुकले लाभ लिने बताए। बैठकमा एसियाली विकास बैंकका उपाध्यक्ष बेनकाई झुआङ् पनि उपस्थित थिए।