नेभिगेशन
अन्य

एनआरएन अष्ट्रेलिया अध्यक्षमा ३ जनाको उमेदवारी

सिड्नी । जुलाई पहिलो साता हुन लागेको गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका नेतृत्वको लागि तीन जनाले उम्मेद्वारी दर्ता गरेका छन् । पूर्व आईसीसी सदस्य सुरेन्द्र सिग्देल, भरत पोखरेल र ऋषि कँडेलले उम्मेद्वारी दर्ता गरेका छन् । सिग्देलको प्यानलमा टोनु घोताने महासचिव तथा पोखरेलको प्यानलमा स्वतन्त्रप्रताप शाह महासचिव छन् । एनआरएन अष्ट्रेलियाको नेतृत्वमा तीनै जना पछि नहटेपछि अब सहमतिको सम्भावना कम भएको बताइएको छ । एनआरएनको विश्व संगठनमा नै महत्वपूर्ण हैसियत राख्ने अष्ट्रेलिया एनआरएनका दुबै अध्यक्षका प्रत्यासीहरुले भुकम्पपीडितहरुको सहयोगलाई प्राथमिकतामा राखेका छन् । सिग्देलले भने नेपालका भुकम्पपीडितका लागि न्युनतम २ सय घर बनाउन आफुले पहल गर्ने बताए । यसका साथै बिद्यार्थीका लागि सामाजिक कोष, नेपालका दुर्गम भेगमा रहेका दलित र आदिवासी विद्यार्थीहरुलाई छात्रवृति र एनआरएनका कार्यहरुको निरन्तरता लगायतका योजना सार्वजनिक गरेका छन् । अध्यक्षका प्रत्यासी पोखरेलले उक्त कार्य बाहेक कार्यालय स्थापना, अहिले चालु रहेका योजनाहरुको निरन्तरता, विद्यार्थी हितका लागि विभिन्न कार्यक्रम र मिडिया सेन्टरको अवधारणा सार्वजनिक गरेका छन् । अर्का प्रत्यासी कँडेलले भूकम्पपीडितहरुको लागि आधुनिक गाउँको निर्माण, एनआरएनमा राजनैतिक विचारको अन्त्य, विद्यार्थीको लागि हेल्प डेस्क, विभिन्न सामाजिक कमिटी लगायतका एजेण्डाहरु सार्वजनिक गरेका छन् । पाँच जना आईसीसी सदस्यका लागि समेत १० जनाको उम्मेदवारी परेको छ । उक्त पदका लागि केशव सापकोटा, बालचन्द्र भट्टराई, चुडामणि बेल्बासे, सिके भुसाल, राजु अधिकारी, दीपक भट्टराई, ईश्वर कुइँकेल, प्रकाश जिसी, विवेक अर्याल र दिक्पालदेव पंगेनीले उम्मेदवारी परेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्