नेभिगेशन
अन्य

उपेन्द्र यादव र अशोक राईको पार्टी एक हुँदै

काठमाडौं । मधेसी जनअधिकार फोरम नेपाल, संघीय समाजवादी पार्टी र खस राष्ट्रिय समावेशी पार्टीबीच आज एकता हुँदै छ । तीन दल मिलेर बन्ने नयाँ पार्टीको नाम संघीय समाजवादी फोरम राखिनेछ । एकीकृत पार्टीको अध्यक्षमा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव रहनेछन् । संघीय समाजवादीका अध्यक्ष अशोक राई वरिष्ठ नेतासँगै संसदीय दलको नेता पनि हुनेछन् । एकीकृत पार्टी १५ सभासद्सहित संविधानसभाको पाँचौँ ठूलो दल बन्नेछ । अहिले विजय गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक पाँचौँ ठूलो दल छ । मधेसी जनअधिकार फोरम नेपालका नेता लालबाबु राउतले पार्टी एकताको सबै तयारी पूरा भएको र आजै एकीकृत पार्टी घोषणा हुने बताए । नयाँ पार्टीको केन्द्रीय समिति एक सय ९६ सदस्यीय बनाइने गरी पद बाँडफाँड गरिएको छ । सहअध्यक्ष संघीय समाजवादीले पाउनेछ । त्यस्तै, पाँच उपाध्यक्षमा फोरम र संघीय समाजवादीबाट दुई÷दुई र खस समावेशी राष्ट्रिय पार्टीबाट एक बनाइनेछ । महासचिव पद फोरमले लिनेछ । दुई उपमहासचिव पद फोरम र समाजवादीले एक÷एक लिने भएका छन् । सहमतिअनुसार तीन सचिवमा फोरम, समाजवादी र खस समावेशीले एकरएक राख्नेछन् । कोषाध्यक्ष फोरमको भागमा परेको छ । एकता घोषणापूर्व सबै पार्टीले आ–आफ्नो भागमा परेका पदका लागि नेताहरू सिफारिस गर्नेछन् । एक सय ९६ सदस्यीय केन्द्रीय समितिमा फोरमका ९१, समाजवादीका ९० र खस समावेशी पार्टीका १५ सदस्य हुनेछन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्