नेभिगेशन
अन्य

मधेसी र बैद्य माओवादीको साथ र समर्थनमा राष्ट्रपतिको जोड

बनेपा । राष्ट्रपति डा। रामवरण यादवले मधेसी दल र नेकपा–माओवादीलाई पनि संविधानका सबै विषयमा सहमत गराएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । भूकम्पबाट प्रभावित काभ्रेपलाञ्चोकमा सञ्चालित राहत, उद्धार र पुनःस्थापनाका कार्यक्रमबारे आज धुलिखेलस्थित खड्गदल गणमा जानकारी लिएपछि उनले मुलुक महाविपत्तिमा परेका बेला राष्ट्रको पुनः निर्माणका साथै नवनिर्माणसँगै संविधान लेखनलाई साझा कार्यसूची बनाएर राजनीतिक दलहरूले काम गर्नुपर्ने आवश्यकता औँल्याए । संविधानका विवादित विषयमा सहमति कायम गरेजस्तै विपद् व्यवस्थापन, पुनःस्थापना, पुनः निर्माण र संविधान लेखनमा पनि सबै दलकोसाथ र समर्थन अपरिहार्य हुने राष्ट्रपतिले बताए । सरकार र राजनीतिक पार्टी जसरी मिलेर अघि बढेका छन् त्यो मुलुकका लागि सुखद भएको बताउँदै उनले बाढीपहिरोको जोखिमा रहेका स्थानको पहिचान त्यहाँ बस्ती भए सुरक्षित ठाउँमा स्थानान्तरण गर्न आग्रह गरे । ‘भूगर्भविद् आउँछन् भनेर समय खर्च नर्गनुहोस्, सम्भावित जोखिमयुक्तल स्थान स्थान पहिचान गरी जोखिम घटाउनेतर्फ संवेदनशील भएर लाग्न सम्बद्ध निकायलाई अनुरोध छ,’ राष्ट्रपतिले भने । परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले भूकम्पबाट सिर्जित समस्या समाधान गर्न सरकार क्रियाशील रहेको बताउँदै सबै राजनीतिक पार्टीको सहयोग र समन्वयमा काम भइरहेको जानकारी दिए । सभासद् केशव वडालले काभ्रेपलाञ्चोकलाई सङ्कटग्रस्त जिल्लाको रुपमा घोषणा गर्नुपर्नेमा जोड दिँदै मानवीय क्षति कम भए पनि जिल्लाका अधिकांश घर भत्केका बताए । नेपाली काग्रेस काभ्रेपलाञ्चोकका सभापति शिव हुमागाईँले जिल्लालाई ‘ख वर्गमा राखेर राज्यले दिने सुविधामा विभेद गरेको गुनासो गर्दैै भूकम्पपीडितलाई घर बनाउन कम्तीमा रु। ५ लाख दिनुपर्ने बताए । कार्यक्रममा एमाओवादी काभ्रेपलाञ्चोकका अध्यक्ष दिनानाथ गौतम, राप्रपाका राजेन्द्र केसी, राप्रपा नेपालका टुल्कु लामाले भूकम्पबाट जिल्लामा भएको क्षतिको विवरण प्रस्तुत गर्नुका साथै विपद् व्यवस्थापनका निम्ति तर्जुमा गर्नुपर्ने योजना तथा तिनको कार्यान्वयनबारे जानकारी दिए । काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी सुदर्शन ढकाल र गणका प्रमुख सेनानी प्रकाश चन्दले भूकम्पपछि भएका कामको विस्तृत जानकारी राष्ट्रपति यादवलाई गराएका थिए । राष्ट्रपति यादवका साथ एनेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, राप्रपाका अध्यक्ष कमल थापा, नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले भूकम्पप्रभावित गैरीविसौना देउपुरको स्थलगत निरीक्षण गरेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्