नेपालगन्ज । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले प्रमुख चार राजनीतिक दलबीच भएको १६ बुँदे समझदारीले नयाँ राजनीतिक परिस्थिति सिर्जना गरेको बताएका छन् । क्रान्तिकारी पत्रकार सङ्घ, बाँकेद्वारा आज कोहलपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने–‘यो समझदारीपछि जनतामा नयाँ विश्वास पलाएको छ, राष्ट्रिय राजनीति स्थिरतातर्फ अग्रसर भएको छ ।’ अध्यक्ष दाहालले आठ प्रदेशमा भएको समझदारी राजनीतिक शक्ति सन्तुलनको उपज भएको प्रष्ट पार्दै यसमा असन्तुष्टि जनाउनेहरुले समझदारीको वास्तविकता बुझेका छैनन् भने । यो समझदारीलाई सत्ता समीकरणका रुपमा अपव्याख्या गर्न नहुने बताउँदै उनले तर, कुनै पनि राजनीतिक समीकरण स्थायी हुँदैन परिस्थितिअनुसार फेरबदल हुने बताए । –आफ्नो दलको सैद्धान्तिक अडान त पहिचानसहितको १० प्रदेश हो, संसदीय व्यवस्था नमान्ने नै हो, प्रत्यक्ष राष्ट्रपति निर्वाचन नै हो, तर मुलुकको वर्तमान राजनीतिक विशिष्ट परिस्थितिमा समझदारीमा जानुको विकल्प थिएन’ उनको स्ष्टोक्ति थियो ।
समझदारीपछि असन्तुष्ट राजनीतिक दललाई सहमतिमा ल्याउने प्रयास हुने बताउँदै उहाँले नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले हतारमा टिप्पणी गर्नुलाई सान्दर्भिक मान्न सकिँदैन भने। पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा अध्यक्ष दाहालले गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्षता र समावेशी जनयुद्ध, १९ दिने जनआन्दोलन, मधेस आन्दोलन र आदिवासी जनजाति आन्दोलनको माग भएकाले यसमा आफ्नो दलले कुनै पनि परिस्थितिमा सम्झौता नगर्ने विश्वास दिलाए ।