नेभिगेशन
अन्य

आजबाट संविधानको मस्यौदा लेखन सुरु

काठमाडौं । संविधानसभाले नयाँ संविधानका लागि पठाएका थप विषयमा आजबाट मस्यौदा लेखन सुरु हुँदैछ। संविधानका मूल अन्तर्वस्तु दलहरूको सहमतिबमोजिम संविधानसभा हुँदै मस्यौदा समितिलाई पठाएपछि मस्यौदा समितिले आजबाट काम थाल्न लागेको हो । राजनीतिक दलहरूले राज्य पुनःसंरचना, शासकीय स्वरूप, निर्वाचन प्रणाली, न्याय प्रणालीका बाँकी विवादमा सहमति गरी संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई बुझाएका थिए। सभाध्यक्ष नेम्वाङमार्फत संविधानसभामा पेस भएका विषय संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिमा पठाइएको थियो। संविधानसभाले दिएको समयमा नै पहिलो मस्यौदा लेखनको काम सक्ने मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले जानकारी दिए । मस्यौदा समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बोलाइएको बैठकमा राज्य पुनःसंरचना, शासकीय स्वरूप, निर्वाचन प्रणाली र न्याय प्रणालीसहित बाँकी रहेका संविधानका विवादित अन्तर्वस्तुलाई मस्यौदाका रूपमा ढालिनेछ। समितिअन्तर्गत रहेका पाँचवटा उपसमिति र एउटा कार्यदललाई आआफ्नो समितिअन्तर्गतका विषय दिइनेछ। उपसमिति र कार्यदलले सँगसँगै काम गर्ने समितिले जनाएको छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्