कावासोती । नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नयाँ संविधान निर्माणपछि सरकार परिवर्तन हुने बताएका छन् । आज नवलपरासीको कावासोतीमा प्रेस चौतारी नेपाल नवलपरासीले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले असारभित्र नयाँ संविधान निर्माण हुने र त्यसलगत्तै राष्ट्रपतिसहित सरकार परिवर्तन हुने धारणा व्यक्त गरे । संविधान जारी नभएसम्म सरकार परिवर्तन नहुने र संविधान जारी भएलगत्तै एमालेको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुनेसमेत उहाँले बताए । ‘अब बाँकी बुँदामा एक÷दुई दिनभित्र सहमति हुन्छ । असार मसान्तसम्ममा देशले संविधान पाउँछ’ नेता नेपालले भने –‘संविधान निर्माणपछि सरकार फेरिन्छ ।’ नेता नेपालले १६ बुँदे सहमतिप्रति असन्तुष्ट पक्षधरको मतलाई पनि सम्मान गर्नुपर्नेमा जोड दिए । उनले असन्तुष्ट पक्षधरलाई विश्वासमा लिनुपर्ने र त्यसका लागि छलफल बढाउनुपर्ने बताए ।