काठमाडौँ । राष्ट्रपति डा रामवरण यादवलाई पाँच राजनीतिक दलका नेताहरुले आज भेटगरी नेपालको अन्तरिम संविधानको प्रस्तावना, निर्देशक सिद्धान्त, मूल्य, मान्यताअनुरुप संविधानसभाबाट संविधान निर्माणका कार्यहरु गराउन अनुरोध गरेका छन् ।
संविधानसभाको नियमावली–२०७० को प्रतिकूल नहुने गरी संविधानसभाबाटै संविधान जारी गराउन पनि उनीहरुले राष्ट्रपति डा यादवलाई आग्रह गरेका छन् ।
राष्ट्रपति डा यादवलाई तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, मधेसी जनअधिकार फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादव, सङ्घीय समाजवादी पार्टीका अध्यक्ष अशोक राई, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेस सद्भावना पार्टी नेपालका रामनरेश रायले भेट गरी सो अनुरोध गरेका हुन् ।
ती दलहरुले राष्ट्रपति डा यादवलाई बुझाएको अनुरोधपत्रमा चार दलका केही नेताहरुको सहमतिले पहिचानसहितको सङ्घीयता र सङ्घीयतासहितको विभेदरहित एवम् समावेशी लोकतान्त्रिक चरित्रको संविधान निर्माण गर्नुको सट्टा सङ्घीयताविहीन संविधान निर्माण गर्नका लागि नै सरकारले गठन गर्ने भनिएको सङ्घीय आयोगको प्रस्ताव ल्याएको हो भन्दै सो प्रस्ताव अन्तरिम संविधानको धारा ८२ को मर्म र भावना प्रतिकूल रहेको उल्लेख गरिएको छ ।
नेपाली काँग्रेस, नेकपा (एमाले), एकीकृत नेकपा ९माओवादी०, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) दलका बीचमा यही जेठ २५ गते १६ बुँदे सहमति भएको थियो । सोही सहमतिलाई टेकेर संवैधानिक राजनीतिक संवाद समितिले भावी संविधानमा आठ प्रदेशलगायत अन्य सहमतिसहितको प्रतिवेदन संविधानसभामा पेस गरिसकेको छ ।