नेभिगेशन
अन्य

पूर्वमन्त्री लावतीको आज अन्तेष्टी

काठमाडौं । पूर्वमन्त्री पदमसुन्दर लावतीको आज अन्तेष्टी गरिनेभएको छ । लावतीको बुधवार ७६ वर्षको उमेरमा निधन भएको थियो । काठमाडौंको नर्भिक अस्पतालमा उपचारका क्रममा लावतीको निधन भएको थियो । मृगौलासम्बन्धी समस्याका कारण जेठ २३ गते नर्भिक अस्पतालमा भर्ना भएका लावतीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो । लावतीका एक श्रीमती, दुई छोरी र तीन छोरा छन् । पूर्वमन्त्री लावती मृगौलासम्बन्धी रोगका साथै रक्त अल्पता र श्वासप्रश्वासलगायतका समस्याबाट ग्रसित थिए । पञ्चायत र प्रजातन्त्र पुनःस्थापनापपछि समेत पटक पटक गृह, प्रशासन र कृषिसहित विभिन्न मन्त्रालय सम्हालेका लावतीको जन्म ७ साउन विक्रम संवत १९९६ सालमा पाँचथर जिल्लामा भएको थियोे । २०१४ सालमा विद्यार्थी अवस्थाबाटै राजनीतिमा सक्रिय लावती २०१९ सालमा युवक संगठन अञ्चल सभापति, २०२१ सालमा यासोक गाँउ पञ्चायतको प्रधानपञ्च, २०२४ सालमा जिल्ला पञ्चायतको सदस्य, २०२९ सालमा उद्योग वाणिज्य राज्यमन्त्री हुँदै, स्वास्थ, खाद्य र गृह मन्त्री भएका थिए । गृह जिल्ला पाँचथरको विकासमा योगदान दिएका लावतीकै पहलमा मेची अञ्चलका जिल्लाहरू जोड्ने मेची राजमार्ग निर्माण, पाँचथर सदरमुकाम फिदिमदेखि यासोकसम्म विद्युतीकरणलगायतका काम भएका थिए । राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनलाई सघाएका पूर्वमन्त्री लावतीलाई आफ्नै पार्टी राप्रपा नेपालमा भने सहजता भएको थिएन । उनलाई अध्यक्ष कमल थापाले पटक पटक अपमान गरेको नजिकका साथीहरूको भनाइ छ । २०४६ सालको परिवर्तनसँगै लावती राष्ट्रिय प्रजातन्त्र पार्टीमा रहेर सक्रिय राजनीतिमा लागेका थिए । पछिल्लो समय कमल थापासँग पनि बस्न नसकेपछि राप्रपा नेपाल सुदृढीकरण गठन गरेर बसेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्