नेभिगेशन
अन्य

उपमहासचिव फेल्टम्यानद्वारा सोह्रबुँदे सहमतिको स्वागत

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका उपमहासचिव जेफेरी फेल्टम्यानले प्रधानमन्त्री सुशील कोइरालालाई टेलिफोन गरी उनको अग्रसरतामा हस्ताक्षर भएको सोह्रबुँदे सहमतिको स्वागत गर्दै बधाइ ज्ञापन गरेका छन् । उनले प्रधानमन्त्री कोइरालाको नेतृत्वमा भएको निरन्तरको प्रयास र वार्ताको परिणामस्वरुप सोह्रबुँदे सहमति हुन सकेको उल्लेख गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान लेखनमा यो कदम कोशेढुङ्गा सावित भएको बताउनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्री कोइरालाले उपमहासचिव फेल्टम्यानलाई धन्यवाद दिँदै महासचिव वान की मुनलाई यसको स्वागत गर्दै दिएको वक्तव्यको लागि पनि आभार प्रकट गरे । प्रधानमन्त्रीले शान्ति र विकासका लागि संयुक्त राष्ट्र सङ्घ नेपालको साझेदार भएको पनि उल्लेख गरे । टेलिफोन वार्तामा प्रधानमन्त्रीले सोह्रबुँदे सहमतिलाई संविधान निर्माणमा ठूलो उपलब्धि भएको बताए । प्रधानमन्त्री कोइरालाले संविधान निर्माणमा पूर्ण विश्वासका साथ प्रजातान्त्रिक र शान्तिपूर्ण तवरले काम गर्न चाहेको पनि बताए । प्रधानमन्त्री कोइरालाले आगामी असार १० गते हुने नेपालको पुनःस्थापना तथा पुनःनिर्माण सम्मेलनमा सहभागी हुन राष्ट्र सङ्घका महासचिव मुनलाई आमन्त्रण गरिएको जानकारी दिँदै नेपाल उनको स्वागतका लागि प्रतीक्षारत रहेको बताएका थिए । उनले महासचिवको उपस्थिति नै विश्व समुदायको लागि सार्थक सन्देश हुने बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्