ताप्लेजुङ । ताप्लेजुङको पश्चिमी क्षेत्रमा गएको पहिरोमा परी लिवाङ गाविसको ल्यामल्याममा फसेका १४ जनाको उद्धार हुन सकेको छैन। दर्के पानी र कुहिरो उद्धारमा बाधक बनेको बताइएको छ। वरिपरी पहिरो गएको र बिचमा फसेका उनीहरुलाई उद्धार गरी ल्याउन गएको हेलिकप्टर बिहीबार साँझ मौसमको गडबढीका कारण गन्तव्य नपुगी फर्किएको हो। बिहान सबेरै उनीलाई उद्धार गर्न लिवाङतर्फ पठाउने प्रयास पनि दर्के पानीका कारण सम्भव भएन। ताप्लेजुङका प्रमुख शान्तिराज कोइरालाले निरन्तरको पानी र मौसममा देखिएको परिवर्तन कारण उद्धारको प्रयास सम्भव नभएको बताए। उनका अनुसार उद्धारका लागि भनेर बिहीबार अपरान्ह आइपुगेको नेपाली सेनाको हेलिकप्टर लिवाङ गाविसमा घाइते भएका ८ जनालाई जिल्ला अस्पताल ल्याउन सफल भएको छ भने पहिरोको बिचमा फसेकालाई उद्धारका लागि प्रयास गरिरहेको छ। कोइरालाले नेपाल प्रहरीको टोली घटना भएका सबै क्षेत्रमा पुगको जानकारी दिए। उनका अनुसार हेलिकप्टरबाट उद्धार कार्य सम्भव नभए नेपाली सेना र सशस्त्र प्रहरीबाट समेत फसेकाहरुको उद्धारका लागि सहयोगका लागि पहल भईरहेको छ। उनले पानी परिरहेकाले हराइरहेकाको खोजी कार्यमा अफ्ट्यारो भएको जानकारी दिए। यसैबीच उद्धार तथा राहातको व्यवस्थापनका लागि जिल्ला विपद् व्यवस्थापन समितिको बैठक आज बस्दै छ। बैठकले फसेकाको उद्धार, हराइरहेको खोजी र मृतकको शव निकाल्ने कार्यको अहिलेसम्मको प्रगति र नयाँ रणनीति तयार गर्ने बताइएको छ। साथै, आपतकालिन राहातको व्यवस्थापनको बिषयमा पनि बैठकमा छलफल गरिने प्रजिअ निरौलाले जानकारी दिए। भारी वर्षासँगै बुधबार राति गएको पहिरोमा परी ताप्लेजुङका पाँच गाविसमा कम्तीमा ५५ जनाको मृत्य भएको छ भने दर्जन मानिस बेपत्ता छन्।