ताप्लेजुङ । बुधबार साँझदेखि परेको वर्षासँगै ताप्लेजुङको पश्चिमी क्षेत्रका ६ गाविसमा गएको पहिरोमा परी हालसम्म २८ जनाको मृत्यु भएको छ । लिवाङ गाविसमा सबैभन्दा बढी एकै परिवारका ९ सहित १२ जनाको मृत्यु भएको छ । पहिरोले दर्जनौं घर बगाएको छ । पहिरोमा कयौं बेपत्ता छन् १० जना गम्भीर घाइते भएका स्थानीयले जानकारी दिए । लिवाङ गाविस वडा नं १ मा एउटै घरमा १० जनासहित १४ बेपत्ता भएको प्रहरीले जनाएको छ । मध्यराति गएको पहिरोपछि सन्तहान फेन्सोहाङको परिवारका ९ जना हराइरहेका हुन् । बेपत्ता हुनेहरुमा एकै परिवारका सन्तहाङ फेम्सोहाङ, आइतमाया फेम्सोहाङ, शिक्षा फेम्सोहाङ, जुनु फेम्सोहाङ, प्रेम फेम्सोहाङ, अन्जु फेम्सोहाङ, शिशिर फेम्सोहाङ, सपना फेम्सोहाङ, तीन महिनाको नाम नखुलेको बच्चा र सोही घरमा लेलेपबाट पाउना बस्न आएकी राई थरकी एक महिला गरी १० जना एकै घरमा बेपत्ता रहेको सन्तहाङका भाई कर्ण फेम्सोहाङले बताए । त्यस्तै, सोही वडामा निमा खाङ्दु शेर्पा, उनको एक नाती,चन्द्र घिमिरे र नारायण अधिकारी बेपत्ता भएका हुन् ।
पश्चिमी गाविस थिम्लाबुको याकफेदीमा पाँच जनाको शव भेटिएको छ । स्थानीय नरेन्द्र ओखराबुका अनुसार सो ठाउँमा भेटिएको शव कसको हो भन्ने पुष्टि भएको छैन। पहिरोले खोप्लिन गाविसको वडा ७ धुसेनीमा एक घर बगाउँदा २ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा ११ वर्षीय सविन मादेन र ८ वर्षीय वसन्त बिक छन् । त्यसैगरी लिङ्तेक गाविसमा १ जनाको मृत्यु भएको छ । सो गाविसका आइतबादुर लिम्बुकी छोरी चमेली भनिनेको मृत्यु भएको स्थानीय शिक्षक ईश्वरीप्रसाद भट्टराईले जानकारी दिए । सान्थाक्रा गाविस वडा ३ मा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अमरबहादुर लिबाङ र उनका नाम नखुलेका नाति छन् । यसैगरी लिन्तेन गाविसमा वडा ३ बस्ने ३१ वर्षीय मनमाया लिम्बूको मृत्यु भएको छ । अहिले पनि खोला र पहिरो नरोकिएकाले उद्दार कार्यमा कठिनाई भएको बताइएको छ । काठमाडौंबाट एउटा हेलिकप्पर पठाउने तयारी भइरहेपनि मौसमका कारण अवतरणमा कठिनाई हुने देखिएको छ । पहिरोमा पुरिएर घाइते भएका अरू दुई जनाको अवस्था गम्भीर रहेको स्थानीयले बताए । पहिरोले दर्जनौं घर बगाएकाले हाताहती हुनेको संख्या अझै बढ्न सक्ने प्रहरीले अनुमान गरेको छ । घाइतेलाई खोलाखोल्सी बढेको र पहिरो झर्ने क्रम जारी रहेकोले थप उपचारका लागि सदरमुकाम ल्याउन सकिएको छैन । उद्धारका लागि हेलिकोप्टर ल्याउने प्रयास भइरहेको निमित्त प्रमुख जिल्ला अधकिारी सुरेन्द्र भट्टाराईले जानकारी दिए । जिल्ला प्रहरी प्रमुख तथा डिएसपी शान्तिराज कोइरालाका अनुसार प्रहरी टोली घटनास्थलतर्फ प्रस्थान गरे पनि पहिरोले गर्दा बाटोमै रोकिएको छ ।