नेभिगेशन
अन्य

संसदीय समितिबाट भावी प्रधान न्यायाधीशसम्बन्धी उजुरी आह्वान

काठमाडौं । सर्वोच्च अदालतको भावी प्रधान न्यायाधीश पदका लागि सिफारिस हुनुभएका वरिष्ठतम् न्यायाधीश कल्याण श्रेष्ठका बारेमा सूचना तथा उजुरीको आह्वान गरिएको छ । संसदीय सुनुवाइ विशेष समितिले आज सूचना प्रकाशित गरी १० दिनभित्र उजुरी दिन आह्वान गरेको हो । सूचना तथा उजुरी दिने व्यक्तिको परिचय विशेष समितिलाई प्रष्टसँग खुलाउनुपर्ने तर सार्वजनिक भने नगरिने समितिले जनाएको छ । विशेष समितिको कार्यालय सिंहदरबार वा देशभरका कुनै पनि जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सकिने समितिको सूचनामा उल्लेख छ । उजुरीमा वरिष्ठतम् न्यायाधीश श्रेष्ठलाई प्रधान न्यायाधीशमा नियुक्त गर्न नहुने आधार एवम् सबुद प्रमाण खोलिदिन पनि विशेष समितिले सबैलाई आग्रह गरेको छ । विशेष समितिमा उजुरी तथा सूचना सङ्कलन भएपछि सुनुवाइका लागि श्रेष्ठलाई बोलाइने भएको छ । विशेष समितिले अनुमोदन गरेमा उहाँलाई राष्ट्रपति डा रामवरण यादवले प्रधान न्यायाधीशमा नियुक्त गर्नेछन् । संवैधानिक परिषद्ले मङ्गलबार श्रेष्ठलाई प्रधान न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो । बहालवाला प्रधान न्यायाधीश रामकुमारप्रसाद साह उमेर हदका कारण आउँदो असार २३ गते सेवानिवृत्त हुँदैछन् । सर्वोच्च अदालतमा उमेर हद ६५ वर्ष रहेको छ । श्रेष्ठ नियुक्त भएमा उहाँ पनि १० महिनापछि उमेर हदका कारण सेवानिवृत्त हुनेछन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्