ललितपुर । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले भूकम्पबाट प्रभावित क्षेत्रको पुनःनिर्माणमा नेपालको आफ्नै साधन र स्रोतलाई प्रयोग गर्नुपर्नेमा जोड दिएका छन् । गोरखा भूकम्पले क्षतिग्रस्त ललितपुरको पथप्रदर्शक मावि बडीखेलमा एमाओवादीको राष्ट्रिय श्रम अभियानले तयार पारेको अस्थायी संरचना हस्तान्तरणका लागि आज आयोजित कार्यक्रममा अध्यक्ष दाहालले आफ्नै पौरख र सीपले नयाँ निर्माण गर्नुपर्ने र पुनःनिर्माणका लागि नेपाली आफँै सक्षम छन् भन्ने देखाउनुपर्ने बताए । उनले भारत, चीनलगायत मित्र राष्ट्रले उपलब्ध गराउने सहयोग नेपालको आवश्यकतामा आधारमा मात्रै लिनुपर्ने र प्राथमिकीकरण गर्नुपर्नेमा जोड दिनुभयो । मुलुकमा परेको शोक र पीडालाई राष्ट्रिय शक्ति र अभियानमा बदल्ने अवसरका रुपमा लिनुपर्नेमा जोड दिँदै पूर्वप्रधानमन्त्री दाहालले प्राकृतिक तथा राजनीतिक सङ्कटपछि विश्वका धेरै मुलुक आर्थिक समृद्धिको दिशामा अगाडि बढेको बताए । उनले भने–‘नयाँ राष्ट्रिय एकता कायम गर्ने अवसर आएको छ, यसले नेपाल र नेपाली जनताबीच राष्ट्रिय एकतालाई थप मजबुत बनाउँछ, हामीले यसलाई अवसरका रुपमा लिनुपर्छ ।’प्रमुख राजनीतिक दलबीच संविधानमा सहमति गरेर जनतालाई दिने यतिखेरको प्रमुख आवश्यकता रहेको भन्दै उनले भने–‘झन्डा हल्लाउने, मन्त्री बन्ने प्रधानमन्त्री फेर्ने अभियानमा एमाओवादी छैन, संविधानमा सहमति नभइकन केही हुँदैन भन्ने सबै दललाई परेको छ, सरकार अहिलेको आवश्यकता होइन, संविधान र पुनःनिर्माण अहिलेको आवश्यकता हो ।’ दलहरुले नयाँ राष्ट्रिय एकता प्रदर्शन गरेर लामो समयदेखि अवरुद्ध संविधान निर्माण प्रक्रियालाई अगाडि बढाउने र सहमतिका आधारमा संविधान जारी गरी एकीकृत भएर नवनिर्माणमा जुट्नुपर्ने उनको भनाइ थियो । एमाओवादीका स्थायी समिति शक्तिबहादुर बस्नेतको नेतृत्वमा रहेको राष्ट्रिय श्रम अभियानको टोलीले सो विद्यालयको १२ वटा अस्थायी कक्षाकोठा तयार पारेको छ । एमाओवादीले यसअघि नै हरिसिद्धि, बाडेगाउँलगायत स्थानमा अस्थायी आवासस्थल तथा विद्यालयको अस्थायी संरचना तयार पारिसकेको छ । अल्पसङ्ख्य पहरी जातिको बाहुल्य भएको सो क्षेत्रमा भूकम्पका कारण ठूलो जनधनको क्षति भएको छ । अस्थायी आवास तथा विद्यालय निर्माणका लागि एमाओवादीको जिल्ला पार्टी, जनवर्गीय सङ्गठनका नेता तथा कार्यकर्ता परिचालन भएका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोकुल पहरीले श्रम अभियान टोलीले विद्यालयको अस्थायी संरचना निर्माण गरेको जानकारी गराए । विद्यालयको अस्थायी भवन निर्माणका लागि एमाओवादी र किराती याक्थुम चुम्लुङले १५० बन्डल जस्तापाता उपलब्ध गराएको थियो ।