नेभिगेशन
अन्य

भूकम्प प्रभावितलाई राहत र परिचयपत्र वितरण सुरु

कावासोती । जिल्ला प्रशासन कार्यालय नवलपरासीले भूकम्प प्रभावितलाई राहत रकम र परिचयपत्र वितरण शुक्रबारदेखि सुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीको उपस्थितिमा देवचुली नगरपालिका– १ केउरेनीबाट राहत रकम र भूकम्प प्रभावितलाई परिचयपत्र वितरण सुरु गरिएको हो । पूर्ण क्षति भएका परिवारलाई रु १५ हजार र आंशिक क्षति भएका परिवारलाई रु तीन हजारको दरले राहत रकम वितरण गरिएको हो । नवलपरासीमा भूकम्पका कारण ४४६ घरमा पूर्ण र तीन हजार ३४३ घरमा आंशिक क्षति पुगेको छ । तीमध्ये २९७ परिवारका दुई हजार हजार २१७ जना विस्थापित भएका छन् । पहिलो चरणमा भूकम्पबाट धेरै क्षति पुगेको देवचुली नगरपालिकाबाट राहत रकम वितरण सुरु गरिएको हो । देवचुली नगरपालिकामा मात्रै १०२ घरमा पूर्णरुपमा र २६५ घरमा आंशिक क्षति पुगेको छ । जिल्लामा भूकम्पपीडितका लागि रु तीन करोड राहत रकम आवश्यक परेकोमा पहिलो चरणमा रु एक करोड प्राप्त भएको जानकारी सहायक प्रमुख जिल्ला अधिकारी माधव ढुङ्गानाले दिए । उनका अनुसार पहिलो चरणमा देवचुली नगरपालिकासहित अर्खला, देउराली र मैनाघाट गाविसमा राहत रकम वितरण गरिनेछ । गृह मन्त्रालयबाट थप राहत रकम प्राप्त भएपछि अन्य प्रभावितलाई पनि क्रमश वितरण गरिने ढुङ्गानाले बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्