काठमाडौं । भूकम्पले भत्काएका भौतिक संरचना निर्माणका लागि नेपाली काँग्रेसले २२ जिल्लामा खटाएका समूहले अस्थायी घरटहरा निर्माणलाई तीव्रता दिएका छन् । काँग्रेसले ‘हिमाल–पहाड–तराई योगदान, विपत्तिको सामना गर्न हामी गर्दछौँ श्रमदान’ भन्ने नाराकासाथ जेठ १० गते १६ जिल्लामा स्वयंसेवक परिचालन गरेको थियो । त्यसमा आज ६ जिल्ला थप गरी २२ जिल्लामा स्वयंसेवक श्रमदानका लागि पुगिसकेका छन् । भूकम्प प्रभावित जिल्लामा प्रभाव नपरेका जिल्लाका सभापतिको नेतृत्वमा श्रम समूह परिचालन गरिएको प्रवक्ता दिलेन्द्रप्रसाद बडुले बताए । ‘प्रभावित जिल्लाका एउटा निर्वाचन क्षेत्रमा कम्तीमा एक समूह परिचालन गरिएको छ, २५ जनाको एक समूह बनाइएको छ, यो समूहले खतरामा रहेका संरचना भत्काउने, घर भत्किएकालाई वर्षा छेक्ने गरी अस्थायी वास निर्माण गरिदिनेलगायत काम गर्ने निर्देशन छ,’ – प्रवक्ता बडुले भने । काभ्रेपलाञ्चोकमा झापाका, रामेछापमा सर्लाहीका, धादिङमा मोरङ, गोरखामा चितवन, सिन्धुपाल्चोकमा रौतहट, मकवानपुरमा पर्सा, सिन्धुली र दोलखामा महोत्तरी, लम्जुङमा कास्की, ओखलढुङ्गामा सप्तरी, सोलुखुम्बुमा उदयपुर, नुवाकोटमा रुपन्देही, रसुवामा कपिलवस्तु, स्याङ्जामा पाल्पा, पर्वतमा बाग्लुङ र तनहुँमा अर्घाखाँचीका काँग्रेस नेता कार्यकर्ता पुगेका छन् । काठमाडौँ, भक्तपुर, ललितपुर, बाग्लुङ, पाल्पा र सङ्खुवासभामा समेत स्वयमसेवक पुगेपछि २२ जिल्लामा काँग्रेसका स्वयमसेवक क्रियाशील छन् । थपिएका जिल्लामा काठमाडौँ, ललितपुर र भक्तपुरले आफैँ व्यवस्थापन गरी अस्थायी वास बनाउन निर्देशन दिइएको प्रवक्ता बडु बताउछन् । थपिएकामध्ये सङ्खुवासभामा सुनसरी, पाल्पामा गुल्मी र बाग्लुङमा बारा काँग्रेसको समूह क्रियाशील छ । धादिङमा कञ्चनपुर काँग्रेसको समूहसमेत थपिएकाले दुई जिल्लाका समूहले स्वयंसेवकका रुपमा काम गरिरहेका छन् । यसको संयोजन केन्द्रीय सदस्य गुरुराज घिमिरे र यज्ञराज जोशीले गरेका छन् । काँग्रेस उपसभापति रामचन्द्र पौडेल श्रमको सम्मान गर्नु नै समाजवाद भएकाले जिल्लामा खटिएका नेता कार्यकर्तालाई विपीको आदर्श सम्झिएर श्रम गर्नुपर्ने बताउछन् । ‘स्थानीय स्रोतसाधनको उपयोग गरी माटोमा हात चोवलेर श्रम गर्नुपर्दछ, यो श्रमको सम्मान गर्ने संस्कृति मात्र हैन, एकताबद्ध भएर नवनिर्माणको काम गर्ने समय पनि हो,’–उपसभापति पौडेलले भने । सिन्धुपाल्चोकमा खटिनुभएका केन्द्रीय सदस्य प्रदीप पौडेल जिल्लाको पूर्वी भेगस्थित निर्वाचन क्षेत्र नं १ को धुस्कुन गाविसमा १५० स्वयंसेवक खटिएर ६० अस्थायी घर निर्माण गरिएको बताउछन् । ‘सिन्धुपाल्चोकमा रौतहट जिल्ला कार्य समितिको समूहले राहत सामग्रीसहित स्वयंसेवक लिएर मङ्गलबार आउँदैछ, त्यसैदिन सिन्धुपाल्चोक जिल्ला कार्य समितिले पनि बैठक बसेर कहाँ के गर्ने भन्ने निर्णय गर्दैछ, त्यसअनुसार हामी परिचालित हुँदैछौँ’ उनले भने । धुस्कुन क्षेत्रमा पुरिएका दुर्गन्धित चौपाया निकाली खाडलमा गाडिएको पनि उनले बताए । काभ्रेपलाञ्चोकमा खटिनुभएका केन्द्रीय सदस्य बद्री पाण्डे काशीखण्ड नगरपालिका–४ को श्रीकृष्ण निमावि पूर्णरुपमा क्षति भएकाले अस्थायी विद्यालय भवन बनाउन स्वयंसेवक समूह खटिएको बताउछन् । प्रत्येक निर्वाचन क्षेत्रमा खटिएको एउटा समूहलाई १५० ज्याकेट, १५० हेल्मेट, बसोबास गर्न प्रत्येक समूहलाई दुई टेन्ट, ह्याक्सो ब्लेड र हथौडालगायत निर्माणमा प्रयोग हुने औजार पठाइएको प्रवक्ता बडुले जानकारी दिए ।
प्रकाशित मिति: शनिबार, जेठ १६, २०७२