खोटाङ । हावाहुरीका कारण जिल्लामा पाँच दिनदेखि विद्युत् अवरुद्ध भएको छ । शनिबार साँझ पानीसँगै चलेको हावाहुरीका कारण विभिन्न ठाउँमा गाडिएका विद्युत् पोल ढलेपछि विद्युत् अवरुद्ध भएको हो । दिक्तेल–गाईघाट ११ केभी र ३३ केभी विद्युत् प्रसारण लाइनको ३३ वटा पोल ढलेपछि जिल्लामा विद्युत् अवरुद्ध भएको विद्युत् प्राधिकरण शाखा खोटाङले जनाएको छ । विद्युत् अवरुद्ध भएसँगै जिल्ला अस्तव्यस्त बनेको छ । यसको प्रत्यक्ष प्रभाव सञ्चारमाध्यम, उद्योगी तथा व्यापारी, सर्वसाधारणलगायतमा परेको छ । सरकारी कामकाजका लागि गाउँगाउँबाट सदरमुकाम दिक्तेल आएका सर्वसाधारण चर्को मूल्य तिरेर फोटो खिचाउनुका साथै फोटोकपी गर्न बाध्य भएका छन् भने, जिल्लामा सञ्चालित मोबाइल सेवा पूर्णरुपमा अवरुद्ध भएको छ । मोबाइल सेवा पूर्णरुपमा अवरुद्ध भएपछि जिल्ला सञ्चारविहीन भएको छ । केहीले घन्टाको रु २० तिरेर मोबाइल चार्ज गराउने गरेका छन् । विद्युत् सेवा अवरुद्ध भएपछि चर्को मूल्य तिरेर फोटो खिचाउने गरेका छन् । जिल्लामा विस्तार गरिएको विद्युत् लाइन लामो दूरीको भएका कारण पनि तत्काल सञ्चालनमा ल्याउन नसकिएको विद्युत् प्राधिकरण खोटाङका प्रमुख पुरुषोत्तम रेग्मीले बताए ।
हावाहुरीका कारण जिल्लामा भौतिक क्षति अत्यधिक मात्रामा भए पनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हावाहुरीले जिल्लाको दक्षिणी गाविस काहुले र चिसापानीको सिमानामा पर्ने होङ्मापोखरीमा रहेको स्काइ तथा नमस्ते मोबाइलको टावरसमेत ढलेको छ ।
टावर ढलेपछि दक्षिणी क्षेत्रमा पर्ने २२ भन्दा बढी गाविसका सर्वसाधारण टेलिफोन सेवाबाट वञ्चित भएका छन् । शनिबार करिब ८ बजे चलेको हावाहुरीका कारण दिप्लुङ–५ का कपिलराज राईको घर जलेको छ ।
हावाहुरीले पु¥याएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विनोदराज खरेलले बताए । हावाहुरीले जिल्लाका सयौँ घर तथा गोठमा क्षति पुगेको छ । पानीसँगै परेको असिनाले मकै, आलु, फलफूललगायतमा ठूलो क्षति पुगेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।