काठमाडौं । राजधानीको नयाँ बानेश्वरस्थित पाँचतारे एभरेष्ट होटलमा सरकारी अनुगमन टोलीले रातो स्टिकर टाँसेको छ । मंगलबार दिउँसो होटल निरिक्षणपश्चात टोलीले रातो स्टिकर टाँसेको हो । अनुगमनको क्रममा होटलमा बस्न खतरा देखेपछि रातो स्टिकर टाँसेको पर्यटन विभागका सिनियर डिभिजन इञ्जिनियर कोषनाथ अधिकारीले बताए । भूकम्पले होटलका तीनवटा मूख्य पिलरमा ठूलो क्षति पुगेको उनको भनाई छ ।
बस्न जोखिमपूर्ण भएपछि तत्काल होटल खाली गर्न निरिक्षण टोलीले व्यवस्थापनलार्इ निर्देशन दिएको छ । निरिक्षण टोलीले अनुगमनपछि रातो वा पँहेलो स्टिकर टाँसेपछि खतराको सूचक ठानेर स्वतः खाली गर्नुपर्ने अधिकारीको भनाई छ । वैशाख १२ गते गएको भूकम्पले होटलमा सामान्य क्षति पुगेको भन्दै हरियो स्टिकर टाँसिएको थियो । ‘तर, २९ गते गएको भूकम्पले होटलमा धेरै क्षति पुर्याएको देखियो’ अधिकारीले भने– ‘व्यस्तताको कारण तत्काल निरिक्षण गर्न नपाउँदा रातो स्टिकर टाँस्न ढिला भयो ।’होटलको भौतिक संरचनामा ठूलो क्षति पुगेपनि सरकारी टोलीले निरिक्षण नगर्दा अहिलेसम्म पूर्ण रुपमा सञ्चालनमा आएको थियो । नियमित हुँदै आएका कार्यक्रमहरु पनि होटलमा भइरहेका थिए । अहिले होटलमा केही विदेशी पर्यटकहरु बसिरहेका छन् ।