नेभिगेशन
अन्य

बिनाशकारी भुकम्पको एक महिनामा २० हजार बढि धक्का

काठमाडौं । झण्डै ९ हजारको मृत्यु हुने गरी विनाशकारी भूकम्प गएको आज एक महिना पुग्यो । वैशाख १२ गते ११ बजेर ५६ मिनेटमा गोरखाको बार्पाकलाई केन्द्र बनाएर ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको थियो । त्यसपछि लगातार पराकम्पन आइरहेको छ । मंगलबार दिउँसो पनि २ बजेर ११ मिनेटमा दोलखालाई केन्द्र बनाएर ४.३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । लगातारको पराकम्पनकै क्रममा वैशाख २९ गते ७.४ रेक्टर स्केलको भूकम्प गएको थियो । जसले दोलखामा ठूलो क्षति पुगेको छ । केन्द्रका अनुसार चार रेक्टर स्केलभन्दा माथिका २ सय ५९ भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले ४ भन्दा कम रेक्टर स्केलका भूकम्पहरुको विवरण सार्वजनिक गरेको छैन । सुरुका दिनमा दैनिक एक हजारदेखि १३ सयसम्म ससाना कम्पन जान्थे । अहिले ३ सयसम्म पराकम्पन जाने गरेको भुकम्प मानन केन्द्रले जनाएको छ । विगतमा पनि एक दिनमा स–साना भूकम्प १०÷१२ वटासम्म जान्थे । तर यी कम्पन महशुस हुदैनथ्यो । वैशाख १२ को शक्तिशाली भकम्पपछि एक महिनामा साना र ठूला गरी २० हजार भन्दा बढी धक्का गएको छ । ठूलो भूकम्प गएपछि लगातार पराकम्पनहरु जानु स्वभाविक भएको विज्ञहरुले बताएका छन् । यस्ता पराकम्पनबाट आत्तिन नहुने तर, सतर्क भने रहनु पर्ने उनीहरुको सुझाव छ । नेपाल प्रहरीका अनुसार विनाशकारी भूकम्पमा परी अहिलेसम्म ८ हजार ६ सय ६४ जनाको मृत्यु भएको पुष्टि भएको छ । झण्डै २२ हजार घाइते भएका छन् । ५ लाख ७ हजार १७ घर पूर्ण रुपमा ध्वस्त भएका छन् । २ लाख ६९ हजार १९० घरमा आंशिक क्षति पुगेको छ । भूकम्पले सबैभन्दा बढी प्रभावित सिन्धुपाल्चोकमा भूकम्पले अधिंकाश घर भत्किएका छन् भने बाँकी घरमा पनि क्षति पुगेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्