नेभिगेशन
अन्य

लगातारको पहिरोले सेनाले काम गर्न सकेन

काठमाडौं । पहिरोका कारण म्याग्दीको भगवती र राम्चे गाविसको सीमामा पर्ने बैसरीमा कालीगण्डकी नदी थुनिएपछि नदीलाई खुलाउन काठमाडौंदेखि आएको नेपाली सेनाको प्राविधिक टोलीले पहिरो चलिरहेकोले तत्काल नदी खुलाउन केही गर्न नसकिने बताएको छ। पहिरोको अवलोकन र थुनिएको नदी खुलाउन हेलिकप्टरबाट आएको सेनाको प्राविधिकसहितको टोलीले म्याग्दीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीलाई कुरा बताएको प्रजिअ केसीले जानकारी दिए। अहिले घटनास्थलमै रहेका प्रजिअ केसीले पहिरो थामिएपछि मात्र प्राविधिकको टोलीले काम थाल्ने बताए। नेपाली सेनाको प्राविधिक टोली अहिले पहिरोको सिरानमा पर्ने राम्चेको डाडाँमा बसेको छ। प्रजिअ केसीका अनुसार अहिले पनि निरन्तररुपमा पहिरो खसिरहेको छ। नदी थुनिएर बनेको तलाउ भन्दा पहिरोले नदीमा बनाएको पहाड धेरै माथि रहेकोले तत्काल पानी ओभर फ्लो भएर बग्ने सम्भावना पनि कम छ। आईतबार राति एक बजे राम्चे गाविस ९ मा पर्ने काफलडाँडाको भीरको पहाडबाट खसेको पहिरोले कालीगण्डकी थुनेको हो। करिब पाँच सय मिटर माथिबाट पहाड भत्कीएर खसेको पहिरोले कालीगण्डकीलाई थुनेपछि तटीय क्षेत्रका बस्तीहरू जोखिममा परेका छन्। नदी थुनिएर ठूलो तलाउ बनेको र पानीको प्रवाह पुरै रोकिएको घटनास्थलमा पुगेका प्रहरी निरीक्षक बिमलकुमार उपाध्यायले बताए। प्रहरी निरीक्षक उपाध्यायका अनुसार पानीको तलाउ र सतह माथितिर बढ्दै गएको छ। पहिरोले भगवती २ बैसरी र राम्चे ९ को औल गाउँका २६ वटा घर पुरेको छ। दुई वटा झोलुङ्गे पुल, विद्युतका पोलहरू पनि पुरीएका छन्। पहिरो नियमित खसीरहेको छ। पानीको ठूलो तलाउ बनेको छ। करिब दुई सय मिटरको दूरीमा पहिरो थुप्रिएर कालीगण्डकी नदीमा ठूलो तलाउ बनेको हो। बैसरीभन्दा तल कालीगण्डकीको पानी सबै सुकेको छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्