नेभिगेशन
अन्य

कालीगण्डकी नदी थुनिएर २६ घर पुरिए, दर्जनौँ बस्ती उच्च जोखिममा

म्याग्दी । राति २ बजेदेखि म्याग्दीको भगवती र राम्चे गाविसको सिमानामा पर्ने बैसरीमा खसेको पहिरोबाट २६ घर पुरिएका छन् । पहिरोले यहाँका दर्जनौं बस्ती जोखिममा परेका छन् । सदरमुकाम बेनीबजारसहित कालीगण्डकीको तटीय क्षेत्रका बस्तीहरु उच्च पहिरोको जोखिममा परेका छन् । करिब एक हजार पाँच सय मिटर माथिबाट पहाड भत्किएर खसेको पहिरोले कालीगण्डकीलाई थुनेपछि तटीय क्षेत्रका बस्ती जोखिममा परेका हुन् । नदी थुनिएर ठूलो तलाउ बनेको र पानीको प्रवाह पूरै रोकिएको घटनास्थलमा पुगेका प्रहरी निरीक्षक विमलकुमार उपाध्यायले बताए । अहिले पनि पहिरो नियमित खसिरहेको छ । बैसरी माथिका बस्तीमा डुबान र तलको तटीय क्षेत्रमा बाढीको खतरा रहेकाले सुरक्षा निकायले सतर्कता अपनाउन तथा सुरक्षाको उपाय अपनाउन सूचना जारी गरेका छन् । बैसरी माथिका बेगखोला, तिप्ल्याङ, महभिर, भिरकाटे, पोखरेबगर, भुरुङ तातोपानी, दानालगायतका ठाउँमा डुबानको खतरा रहेको छ । यसैगरी गलेश्वर, म्याग्दी बेनी, पर्वत बगर, पर्वत बेनीलगायत बागलुङ, पर्वत, स्याङ्जालगायत कालीगण्डकीको तटीय क्षेत्रमा पर्ने बस्ती जोखिममा रहेका छन् । पहिरोले भगवती २ बैसरी र राम्चे–९ को औल गाउँका २६ वटा घर पुरेको छ । दुई वटा झोलुङ्गे पुल, विद्युत्का पोल पनि पुरिएका छन् । शुक्रबारदेखि पहिरो खस्न थालेपछि स्थानीयवासी सुरक्षित स्थानमा गएर ज्यान जोगाए पनि भौतिक सम्पत्तिको ठूलो क्षति भएको छ । घटनास्थल सदरमुकाम बेनीदेखि छ किलोमिटर उत्तरमा पर्छ । उक्त स्थानमा बेनी–जोमसोम सडक पनि पूर्ण अवरुद्ध भएको छ । कालीगण्डकी नदीको जोखिममा कारण म्याग्दी कारागारका कैदीबन्दीलाई स्थानान्तरण गरिएको छ । उनीहरुलाई जिल्ला विकास समितिको सभाहलमा सारिएको छ । बेनीबजारका बासिन्दा सुरक्षित ठाउँको खोजीमा अर्थुङ्गे र मङ्गलाघाटमा सरेका छन् । यसैबीच, प्रहरी प्रधान कार्यालयले एक विज्ञप्ति जारी गरी कालीगण्डकी नदीको बहाव थुनिएर सो स्थानमा १५० मिटर गहिरो र एक किलोमिटर लम्बाईमा ताल बन्न गएको जनाएको छ । बहाव मार्गमा रहेका म्याग्दीदेखि नवलपरासी जिल्लासम्मका विभिन्न गाविसका वस्ती जोखिममा पर्न सक्ने भएकाले तटीय इलाकामा बस्ने जनतालाई सतर्क रहन कार्यालयले आग्रह पनि गरेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्