नेभिगेशन
अन्य

जेठ १७ बाट विद्यालय र २२ गतेबाट क्याम्पसहरु सूचारु हुने

काठमाडौं । शिक्षा क्षेत्रका विज्ञ र सरोकारवालाहरुले विद्यालय र क्याम्पस सूचारु गर्न सके भुकम्पबाट त्रस्त जनजीवन विस्तारै सामान्य बन्दै जाने विश्वास ब्यक्त गरेका छन । रिपोर्टर्स क्लब नेपालमा शनिवार आयोजित साक्षात्कारमा सरोकारवालाहरुले शैक्षिक सस्था सूचारु भए विद्यार्थी, शिक्षक, यातायात, ब्यवसायी र अभिभावक सक्रिय हुने हुँदा त्यसले मुलुकलाई नै सक्रिय बनाउने दावी गरे । शिक्षा मन्त्रालयका प्रवक्ता हरि लम्सालले सरकारले सबैसँगको सल्लाहमा जेठ १७ गतेबाट विद्यालय सञ्चालन गर्ने निर्णय भईसकेकोले सञ्चालन हुन सक्ने विद्यालयमा पठन पाठन सुरु हुने भन्दै औपचारिक रुपमा पठन पाठन भने सुचारु हुन अझै केही समय लाग्न सक्ने बताए । केही विद्यालयका भौतिक संरचना नै संकटमा रहेकाले सबै विद्यालय भने जेठ १७ गतेबाटै खुल्ने सम्भावना भने नरहेको बताए । उनले विद्यालय सूचारु गर्न शिक्षकहरुको लागि पनि काउन्सिलिङको आवश्यकता रहेकोमा जोड दिदै भएको साधान स्रोतहरुको परिचालन गरेर उनीहरुलाई काउन्सिलिङ गरेर सूचारु गर्ने योजना सुनाए । यसकोलागि मन्त्रालयले जिल्ला शिक्षा कार्यालयहरुमार्फत केही टिप्सहरु पठाउने तयारी भईरहेको बताए । सामूदायिक विद्यालयलाई सूचारु गर्न सरकारबाट केही बजेट आईसकेको तर सस्थागत विद्यालयको सन्दर्भमा त्यो हुन नसकेकोले आफूहरुले अर्थमन्त्रालयलाई त्यस विषयमा पनि ध्यान आर्कषण गराईसकेकोले उनीहरुको जिम्मा पनि सरकारकै हुने प्रवक्ता लम्सालले बताए । उनले अहिलेकै शैक्षिक क्यालेण्डर अनुसार शिक्षाको कार्यक्रमलाई अघि बढाउनु पर्ने भन्दै त्यसमा केही मतमतान्तर भए आपसमा छलफल गरेर मिलाउने प्रतिबद्धता ब्यक्त गरे । त्रिभुवन विश्वविद्यालयका उपकुलपति हिराबहादुर महर्जनले आफूहरु आगामि जेठ २२ गतेबाट कक्षा सूचारु गर्ने योजनामा रहेको बताउँदै तत्काल त्रासले सबै कक्षाहरु सञ्चालन हुन सक्ने अवस्था भने नरहेको बताए । उनले भने– जेठ २२ गतेबाट सम्पूर्ण क्याम्पसमा कक्षा सञ्चालन नहुन सक्छन । केही क्याम्पसहरु पूर्ण क्षतिग्रस्तत बनेकाले तत्काल टहरा बनाएर कक्षा सूचारु गर्न पनि कम्तिमा एक महिना लाग्न सक्छ । महर्जनले जिर्ण क्याम्पस मर्मत र भत्किएकालाई निर्माण गरेर सूचारु गर्न दुई अर्व लाग्ने भन्दै त्यसकोलागि १५ करोड त्रिभुवन विश्वविद्यालयले छुट्याएको, कर्मचारी र प्राध्यापकहरुको निश्चित तलब दिने निर्णय भईसकेकोले अब पुर्ननिर्माण र मर्मतको काम अघि बढ्ने बताए । सीटीईभीटीका नियन्त्रक शिवशंकर घिमिरेले सीटीईभीटी अन्र्तगतका कलेजहरुको जेठ १७ गतेबाट र परिक्षा जेठ २५ गतेबाट सूचारु हुने जानकारी दिदै भौतिक संरचना क्षतिग्रस्त भएका कलेजहरुमा अस्थायी ब्यवस्था गरेर अध्यापन सूचारु गरिने बताए । उनले सीटीईभीटीमा अध्ययन गरेर फिल्डमा जानु पर्ने दक्ष जनशक्तिलाई पुर्ननिर्माणमा लगाउनु पर्ने आवश्यकता औल्याउँदै सीटीईभीटीले छोटो समयको तालिम दिएर भुकम्प प्रतिरोधी भवन निर्माणको लागि जनशक्ति उत्पादन गरेर परिचालन गर्ने प्रतिबद्धता ब्यक्त गरे । घिमिरेले शैक्षिक क्यालेण्डरलाई कायम राखेर आफ्नो शैक्षिक गतिविधी कायम राख्ने भन्दै भदौको परिक्षालाई असोजसम्म राखेर भएपनि शैक्षिक क्यालेण्डरलाई मिट गर्ने बताए । शिक्षाविद्ध डा. विद्यानाथ कोइरालाले विद्यालय धेरै दिन अघि नै खोल्नु पर्ने आवश्यकता औल्याउँदै विद्यालय खोलेर विपत्तिका विषयहरुमा शिक्षक र विद्यार्थीहरुवीच बहस चलाएर बातावरणलाई सहज बनाउनु पर्ने बताए । उनले औपचारिक कोर्स सुरु नगरी भुकम्पको तरङबाट विज्ञान, यसको उर्जाबाट गणित, सबै नेपालीको भावना एक भएको यो अवस्थालाई सामाजिक विषयबस्तुको कोर्सलाई जोडदै जाने गरेर छलफल चलाउनु पर्ने सुझाव दिदै परिक्षा लिन समस्या भए विद्यालय तहमा ‘टेक होम एक्जाम’ र क्याम्पस तहमा छ महिनाको कोर्सलाई दुई महिनामा सक्ने गरेर समर कोर्स सञ्चालन गर्ने विधी रहेको बताए । हिसानका उपाध्यक्ष रमेश सिलवाल जेठ १० गते आईतवारबाटै निजी कलेजहरु सञ्चालनमा आउने भन्दै समाजमा ब्याप्त त्रास लाई न्यून गर्न आफूहरु कक्षा सञ्चालनमा लागेको बताए । उनले कुनै विद्यालयमा कक्षा सञ्चालन हुन नसक्ने स्थिति भए कक्षा सञ्चालन हुन सक्ने कलेजमा विद्यार्थी लगेर भए पनि अध्यापन गराउने बातावरण निर्माण गर्ने योजना सुनाउँदै शैक्षिक क्यालेन्डरलाई प्रभावित नगर्ने गरी शैक्षिक बातावरणलाई अघि बढाउने बताए । सिलवालले भने– हामी शिक्षा सुरु गर्न तयार छौ । अभिभावक, विद्यार्थी र शिक्षकरु आत्तिनु पर्दैन । हामीले बातावरण बनाएका छौ । उनले ईन्जिनियरिङ्गको छैठौ सेमेष्टार सक्न लागेका विद्यार्थीलाई परिक्षापछि गर्नु पर्ने प्राक्टिकल भुकम्प प्रभावित क्षेत्रको पुर्ननिर्माणमा गराउन सकिने प्रस्ताव गर्दै यस्तो विपत्तिमा नीजि क्षेत्र र सरकार मिलेर अघि बढ्नु पर्ने बताए । एनप्याब्सनका अध्यक्ष कर्णबहादुर शाहीले भुकम्पबाट त्रस्त जीवनलाई सहज बनाउन विद्यालय सूचारु गर्नु पर्ने आवश्यकता औल्याउँदै अहिलेसम्म विद्यालय सूचारु नभएर नै स्थिति सामान्य हुन नसकेको बताए । उनले भने–विद्यालय सूचारु गरे समाजमा चलखेल बढ्छ । यसले स्थितिलाई सामान्य बनाउँदै लैजान्छ । उनले भुकम्पको त्रासबाट मुक्त पार्न अब भुकम्पको विषयमा छुट्टै कोर्स नै बनाएर पहिलाबाटै सचेत पार्दै जानु पर्ने आवश्यकता समेत औल्याए । शाहीले २० प्रतिसत सस्थागत विद्यालयहरु सञ्चालन हुनै नसक्ने अवस्था रहेकोले अब सस्थागत विद्यालयको विषयमा पनि सरकारले सोच्नु पर्ने आवश्यकता औल्याए । प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीले आगामि जेठ १७ गतेबाट विद्यालय सूचारु गराउने भन्दै सूचारु हुन नसक्ने विद्यालयको विषयमा भने निजी क्षेत्र, अभिभावक र सरकारले छलफल गर्नु पर्ने बताए । उनले सरकारले नीजि क्षेत्रलाई यो भुकम्पको बेला विभेद गरेको आरोप लगाए । नेपाल शिक्षक महासंघका अध्यक्ष केशब निरौलाले अहिले विद्यार्थी जस्तै शिक्षकहरुको अवस्था पनि त्रस्त रहेको भन्दै अहिले अध्यापन गराउनु भन्दा पनि विद्यार्थी र शिक्षकवीच भेट गर्ने बातावरण बनाएर स्थितिलाई सामान्य बनाउनु पर्नेमा जोड दिए । उनले भने–हामी शिक्षकहरु अध्यापन गराउन तयार छौ । विद्यार्थी र शिक्षकवीच सम्पर्क स्थापित गर्न सके अवस्था सामान्यीकरण बन्छ । राम्रा विद्यालयहरु अहिले भुकम्पबाट प्रभावितहरुको आश्रय स्थल बनेकोले अध्यापन कार्य सूचारु गर्न केही समस्य रहेको भन्दै यो शैक्षिक क्यालेण्डरलाई नै कायम राख्न पर्वविदाहरुलाई छोट्याएर , केही महिनासम्म खाजासहित विहान नौ बजेबाट बेलुका चार बजेसम्म अध्यापन गर्ने बातावरण निर्माण गर्नु पर्ने बताए । निरौलाले अहिले कोर्स अध्यापन गराउने भन्दा पनि प्ले गु्रपको रुपमा सञ्चालन गर्नु पर्ने आवश्यकता औल्याउँदै जेठ १७ गतेबाट विद्यालय सुचारु हुने विश्वास ब्यक्तगरे । अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले अहिले पठन पाठन भन्दा पनि स्थिति लाई सामान्य बनाउने तर्फ ध्यान दिनु पर्ने आवश्यकता औल्याउँदै कक्षामा बोलाएर खेल खेलाउने र संगित थेरापी केही समयको लागि चलाउनु पर्ने बताए । उनले अहिले डरको मनो विज्ञान भएकोले यस्तो अवस्थामा मनोपरामर्श गर्नु पर्ने आवश्यकता औल्याए । क्लबका अध्यक्षले विद्यालय सूचारु नगर्दा भुकम्पको त्रासले मानिसको मनमा डरलाग्दो ढंगले घर बनाएको भन्दै पालमुनी भए पनि विद्यालय सूचारु गर्न सके अवस्था सामान्य बन्ने विश्वास ब्यक्त गरे । विद्यालय खोले यातायात, बजार ब्यवसाय समेत सूचारु हुने उनको भनाई थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्