काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालासँग भ्याटिकन सिटी ‘होली सी’का गैरआवासीय राजदूत साल्भाटोर पेनासोले शनिबार बिहान बालुवाटारमा भेटवार्ता गरेका छन् । भेटमा नेपालमा हालै आएको विनासकारी भूकम्पले पुर्याएको जनधनको क्षति, खोजी, उद्धार राहत र पुनस्थापनाका विषयमा कुराकानी भएको थियो । भेटमा राजदूत पेनासोले नेपालमा आएको विनासकारी भूकम्पबाट भएको जनधनको क्षतिप्रति प्रधानमन्त्री कोइरालामार्फत नेपाली जनता र पीडित परिवारलाई पोपले सहानुभूति र समवेदना पठाएको बताएका थिए ।
सो अवसरमा प्रधानमन्त्री कोइरालाले नेपालमा ८२ बर्षपछि अकल्पनीय विपद् आएको र मित्रराष्ट्रहरुको सहयोगले यो प्रकोपको सामना गरिएको बताए । सीमित स्रोत र साधनका बाबजूद छोटो समयमा नेपालमा भएको खोजी, उद्धार र राहतका कार्यको विकसित मुलुकहरुबाट समेत प्रशंसा भएको उनले बताए । प्रधानमन्त्री कोइरालाले सरकारको ध्यान राहत र पुनःस्थापनामा केन्द्रित भएको पनि जानकारी गराए ।