काठमाडौं । विनाशकारी भूकम्प र त्यसपछि आएका ठूला पराकम्पनमा परी आज बिहान १० बजेसम्म आठ हजार ६५० जनाको निधन भएको तथा २२ हजार ४० घाइते भएका छन् । भूकम्पका केन्द्रविन्दु गोरखाको बारपाक तथा दुई पराकम्पनका केन्द्रविन्दु सिन्धुपाल्चोक र दोलखाको सिमाना थिए । १२ गतेको भूकम्पबाट ज्यान गुमाउनेमा काठमाडौँ उपत्यकामा एक हजार ७३०, पूर्व क्षेत्रमा ५८, मध्य क्षेत्रमा छ हजार ४०८, पश्चिम क्षेत्रमा ४५२ र मध्यपश्चिम क्षेत्रमा दुई तथा घाइते हुनेमा उपत्यकामा १२ हजार ९८३, पूर्व क्षेत्रमा ४५४, मध्य क्षेत्रमा सात हजार २३३, पश्चिम क्षेत्रमा एक हजार ३३२, मध्यपश्चिम क्षेत्रमा ३६ र सुदूरपश्चिम क्षेत्रमा दुई जना छन् । मृतक आठ हजार ६१२ जनाको शव आफन्तलाई बुझाइसकिएको छ । घाइतेमध्ये पाँच हजार ३०७ जना विभिन्न अस्पतालमा उपचारत रहेको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ । भूकम्पमा ज्यान गुमाएका कुलमध्ये नेपाल प्रहरीका छ, नेपाली सेनाका नौ, सशस्त्र प्रहरीका एक, निजामती सेवाका ११ र विदेशी ७९ हुन् । घाइते भएका कुलमध्ये नेपाल प्रहरीका १८३, नेपाली सेनाका छ , प्रहरी बलका ३२ र विदेशी पर्यटक ५० जना छन् । यसैगरी हालसम्म नेपाली २३० र विदेशी ८९ जना बेपत्ता छन् ।
यसैगरी उक्त विनाशकारी भूकम्पबाट पूर्ण तथा आंशिक गरी उपत्यकामा ६७ हजार १८८, पूर्व क्षेत्रमा ४५ हजार ९३०, मध्य क्षेत्रमा २० हजार ८६२, पश्चिम क्षेत्रमा एक लाख ४५ हजार ४२८, मध्यपश्चिम क्षेत्रमा ३१ हजार ९५ र सुदूरपश्चिम क्षेत्रमा ५० भौतिक संरचना क्षति भएका छन् ।
नेपाल प्रहरीबाट उपत्यकालगायत प्रभावित क्षेत्रमा खाद्यान्न, त्रिपाल, स्वास्थ्य शिविर सञ्चालन र पानीसमेतका राहत सामग्री वितरण भइरहेको छ । भग्नावशेष हटाउने, सरसफाइ गर्ने, सुरक्षागस्त गर्ने, उद्धार तथा खोजसमेतमा देशभर नेपाल प्रहरीबाट ४४ हजार ६२९ प्रहरी कर्मचारी परिचालन भएको थाहा भएको छ ।
प्रकाशित मिति: शनिबार, जेठ ९, २०७२